बिराटनगरमा नेकपामा पहिरो, कांग्रेस प्रवेश गर्नेको लर्को

मिडिया डबली प्रकाशित : बुधबार, बैशाख ४, २०७६

http://www.nepatop.com.np/

विराटनगर – नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का झण्डै दुई सय नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराएका छन् ।

मोरङ जिल्लाको सुन्दरहरैचा नगर समितिले सुन्दर हरैचा वडा नम्बर ६ मा आयोजना गरेको कार्यक्रममा नेकपाका दुई स्थानीय नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

प्रवेश गरेका उनीहरूलाई कांग्रेसका नेता डा.कोइरालाले पार्टीको चारतारे झण्डा, सदस्यता र टीका लगाएर कांग्रेसमा प्रवेश गराएका हुन् ।

कांग्रेसमा प्रवेश गर्नेहरूले कांग्रेसको संरक्षणमा आफूहरू आएकाले जीवनस्तर उकास्न डा.कोइरालासँग आग्रह गरे । कम्युनिस्टहरूबाट धोका पाएको बताएका उनीहरूले निर्वाचनका बेला दिएको आश्वासनबाट जितेर गएका नेकपाका जनप्रतिनिधिहरूले भुलेको बताए । नेपाल दलित संघ सुन्दरहरैचा नगर समिति, मोरङले सुन्दरहरैचा ६ मा पार्टी प्रवेशको कार्यक्रम राखेको थियो ।

कांग्रेसका नेता डा.कोइरालाले दलितहरूको उत्थान नेपाली कांग्रेसले मात्रै गर्ने बताए । कम्युनिस्टहरूले आश्वासन दिएर जनतालाई धाका दिने गरेको भन्दै डा.कोइरालाले भने, ‘समाजमा दलित समुदाय कथित उपल्लो जातका व्यक्तिहरूको थिचोमिचोमा छन् । यो सामाजिक कुरीतिलाई क्रमशः अन्त्य गर्दै लैजानुपर्छ ।’

डा.कोइरालाले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिँदै भने, ‘कांग्रेसका हाम्रा साथीहरूले दलित समुदायमाथि कुनै पनि प्रकारको भेदभाव गर्नु हुँदैन । सामाजिक कुप्रथालाई हामीबाटै सुधार गरेर जानुपर्छ । छुवाछुतको अन्त्य गर्नुपर्छ ।’