यसरी ढल्नेछ ओली सरकार, कसले ढाल्नेछ त कम्युनिस्टको शासन ?

केशवप्रसाद भट्टराई प्रकाशित : मङ्लबार, बैशाख ३, २०७६

http://www.nepatop.com.np/

केशवप्रसाद भट्टराई

१. ओलीजी बोल्नुहुन्छ ! विपक्षविरूद्ध तीखा शव्द प्रयोग गरेर घोचेर बोल्नुहुन्छ !

तीखा र मर्मभेदी शव्द खोजीखोजी प्रहार गरेर सन्तुष्टि लिनुहुन्छ । प्रधानमन्त्री भएकै दिनदेखि उहाँले त्यो शुरु गर्नु भयो ।

२. अर्थमन्त्री युवराज खतिवडाले आफ्नो विद्वता, अनुभव र वौद्धिकता विपरित सत्य र तथ्यलाई तोड मरोद र गलत आशयले जारी गर्नुभएको स्वेतपत्र ओलीजीको विपक्षी र मूलतः कांग्रेसविरुद्धको भावी रणनीतिको परिचय थियो ।

विगतको आफ्नो र प्रचण्ड लगायतकाको सरकारको अपजस पनि उहाँले देउवा सरकारको थाप्लोमा हालिदिनु भयो ।

आफ्नै पार्टीका वरिष्ट र प्रमुख नेताहरू र कार्यकर्ताको ठूलो पंक्तितद्वारा कतिपय जायज र कतिपय नाजायज आधारमा निरन्तर घेराउमा परेका देउवाजी ओलीजीको लागि सजिलो राजनीतिक लक्ष बने ।

देउवाजीको पार्टीभित्रकाहरूका साथै ओलीजीले देउवाजीलाई निरन्तर ठुँगिरहनु भयो ।

त्यसैमा पुरुषार्थ देख्नु भयो । जवकि त्यो कुनै राजनीतिक पुरुषार्थ भने थिएन ।

३. हिजो ओलीसँगबाट प्रचण्डलाई थुतेर पालैपालो प्रचण्ड र शेरबहादुर देउवा प्रधानमन्त्री भएको, त्योभन्दा अघि ओलीलाई समर्थन गर्ने सहमति विपरित सुशील कोइरालाले प्रधानमन्त्रीको पदमा उम्मेदवारी दिएको कुरा भुल्न ओलीजीलाई सजिलो छैन ।

जीवनका १४ महत्वपूर्ण अवधि कालकोठरीमा बिताएका मानिसको मनोविज्ञान सरल र सामान्य हुन सक्दैन ।

उनको पुस्ताका सबैले पालो पाएपछि मात्रै पालो पाएका र सहमति तोडेर आफ्नो प्रधानमन्त्री हुने अवसर खोसेका र खोस्न खोजेको कुरा बिर्सन अत्यन्त महत्वाकांक्षी र प्रतिशोध चेतनाका खली ओलीजीलाई सम्भव देखिन्न ।

४. त्यसको लागि उच्चस्तरको राजनीतिक संस्कृति, इच्छाशक्ति र छाती पनि चाहिन्छ । उग्र साम्यवादी चिन्तनबाट ग्रस्त भएर वर्गशत्रुको मनोविज्ञान बोकेर हिंसात्मक वर्ग संघर्षको आलोकाँचो अभ्यास अनि १४ वर्षको कठोर जेल जीवन भोग्न वाध्य उहाँलाई दुर्भाग्यबस त्यस्तो संस्कृतिमा दीक्षित हुने अवशर प्राप्त भएनछ ।

फेरि स्वास्थ्य स्थिति र उपचार प्रणालीका मनोवैज्ञानिक असर र प्रभाव पनि हुने नै भए । यतिविघ्न प्रतिकूलताको असर कसैमा नपर्नु सम्भव छैन !

५. हिजो ओलीजी समेत मिलेर देउवालाई ध्वस्त पार्ने प्रयास भयो । देउवाजी पछि ओलीजीको पालो आयो । त्योभन्दा अली पहिला राजालाई सिध्याइयो राजापछि गिरिजाप्रसाद कोइराला । त्यसपछि प्रचण्ड, बाबुराम । कोही बाँकिरहेनन् ।

६. एमालेसँग जोडिएर प्रचण्डले राजनीतिक भविष्य सुरक्षित गरे जस्तो देखिन्छ । तर, त्योपनि सहज नहोला । ओली सरकार ढाल्न भने पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, वामदेव गौतम आदि सबै मिलेर फेरि देउवालाई उकास्न पछि नपर्लान ।

ओली सरकार जति अलोकप्रिय भए पनि र बनाइए पनि ओलीपछि को भन्ने प्रश्नको उत्तर दिन उनको पार्टीलाई मात्रै होइन, यो व्यवस्थालाई पनि सजिलो नहोला ।

७. ओली सरकारलाई देख्ने नसक्नेहरूको ठूलो पंक्ति नेकपाभित्रै छन् । कांग्रेसले ढाल्न सक्ने कुरा भएन । ढाल्न परे उतैकाले ढाल्ने हुन् ।

त्यसैले ओली सरकारविरूद्ध कांग्रेसले कुनै राजनीतिक उर्जा लगानी नगरे हुन्छ । आफ्नै संगठन बलियो बनाए हुन्छ । धैर्यपूर्वक प्रतीक्षा गरेर बसे हुन्छ ।

कहिले कहीँ राजनीतिमा केही नगरेर बस्नु पनि धेरै गरेको हुन्छ । शान्त र स्थिर हुनुपनि युद्ध गर्नु जत्तिकै हुन्छ ।

८. देशलाई सरकार चाहिन्छ र प्रचण्ड, माधव नेपाल र वामदेवहरूमा यो चार वर्ष पर्खिने राजनीतिक धैर्य छैन । त्यस्तो अधैर्यता कांग्रेसलाई भन्दा बढ्ता उनीहरूलाई छ ।

कांग्रेसले धेरै हतार गरे ढिलो चाँडो भोलिका दिनमा आउने निश्चित भाग पनि खोसिएला ।

९. यो सरकारको लक्षण र गतिको प्रशंसा स्वयम् ओली, उनका मन्त्रीहरू, ओलीजीले लाभ पुर्‍याएका व्यक्तिहरू र अबको पालो पर्खिएका प्रचण्ड जस्ताले मात्रै गरिरहेका देखिन्छन ।

उनकै पार्टीभित्रका ओली विरोधीहरूलाई सजिलो बनाइदिने काम कांग्रेसले नगर्दा नै जाती । हिजो कांग्रेस पनि सरकारमा बसेकै हो । सरकारको नेतृत्व गरेकै हो खासै गतिलो सरकार चलाएको त होइन ।

हिजोका गल्तीहरूको समीक्षा गर्न, हराएको लक्ष पुनः पहिचान र प्राप्त गर्न र भावी रणनीति तयार गर्न र पार्टीलाई पार्टी जस्तै बनाउन पनि कम्तीमा चार वर्ष त चाहिन्छ । लक्ष्य दुई–चार महिने सरकार मात्रै हो भने त त्यस्तै हो ।