करले जनताको ढाड सेकेर ओलीले किने करोडौंको बुलेट प्रुफ गाडी, धनराजले गरे भण्डाफोर

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, अशोज २४, २०७५

काठमाडौं – सुशासन र समृद्ध नेपालको नारा दिएर सत्ता चलाइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको ढाड सेक्नेगरी कर उठाएर करोडौ रुपैयाँको गाडी किनेको खुलासा भएको छ। प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले यस्तो खुलासा गरेका हुन्।

उनले ओली सरकार भ्रष्ट पथमा लम्किरहेको आरोप लगाए। ‘वाइड बडी खरिदमा साँढे छ अर्ब घोटाला भएको छ,’ उनले भने, ‘यही नै ओली सरकारको ज्वलन्त उदाहरण हो।’ नेपाली जनताले तिरेको करबाट ओलीले साँढे दुई करोडको बुलेट प्रुफ गाडी किनेको बताए।

देश चलाएका नेता र चलाइसकेका नेताहरुको शासन राणा शासनको भन्दा कुनै फरक नभएको उनले बताए। ‘राणा शासनमा बनेको अलिसन महल र अहिलेका नेताको महल कुनै फरक छैन,’ उनले भने, ‘लोभीपापी नेता हुँदासम्म देश समृद्ध बन्दैन।’

समाज बदल्न हिँडेका नेताहरु पहिला आफु बदल्न पर्ने उनले बताए। दुई पटक प्रधानमन्त्री भएका कृष्णप्रसाद भट्टराई आजीवन आश्रममा बसेको स्मरण गर्दै उनले थपे, ‘कम्युनिस्ट सर्वहरा वर्गका पार्टी होइनन्। अधिनायकवादका पार्टी हुन्।’