निर्मलालाई न्याय दिन नसकेको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग, महिलाहरु सडकमा उत्रिए

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, अशोज ७, २०७५

काठमाडौं – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तलाई न्याय दिन नसकेको भन्दै महिला अगुवाले राजधानीमा प्रदर्शन गरेका छन्। उनीहरुले न्याय दिन नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा माग गरेका छन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल महिला संघको अगुवाईमा आइतबार राजधानीमा प्रदर्शन भएको हो। महिला संघले आइतबार उपत्यकाका तीनवटै जिल्लाबाट कार्यकर्ताहरु सडकमा उतारेर निर्मलाका हत्यारालाई कारवाही तथा परिवारलाई न्याय दिन माग गर्दै प्रदर्शन गरेको हो ।

माइतीघर मण्डलाबाट सुरु भएको महिला संघको प्रदर्शनमा काठमाडौं, ललितपुर र भक्तपुरका महिला संघमा आवद्ध नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो। प्रदर्शनका क्रममा महिला संघले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गरेका छन् ।

उनीहरुले महँगी, कालोबजारी रोक्नुपर्ने, जनतालाई सामाजिक सुरक्षाको ग्यारेन्टी गर्नुपर्नेलगायतका मागसमेत गरेका छन् । माइतीघर मण्डलाबाट सुरु भएको महिला संघको प्रदर्शन काठमाडौं जिल्ला अदालत पुगेर सम्पन्न भएको थियो ।

प्रदर्शनमा कांग्रेसकै भ्रातृ संगठन नेपाल तरुण दलका जिल्ला अध्यक्ष जीतजंग बस्नेत, महासचिव भुपेन्द्रजंग शाहीलगायतका तरुण दल आवद्ध नेता कार्यकर्ताहरु पनि उपस्थित थिए । महिला संघले प्रदर्शनपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको थियो ।