दुई तिहाई भएको नेकपालाई कांग्रेस एक्लैले बेमौत हरायो, महासंघमा शानदार जित

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, अशोज ७, २०७५

काठमाडौं – देशमा दुई तिहाई बहुमतसहित शासन गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई कांग्रेसले बेमौत हराएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपाका नेता कार्यकर्ताले दुईतिहाईको अहंकार देखाइरहेका बेला भर्खरै सम्पन्न देशभरका निर्माण व्यवसायीको चुनावमा कांग्रेस उम्मेदवारले नेकपालाई नराम्रोसँग पराजित गरेका हुन्।

यससँगै नेकपाको जनमत खस्किरहेको प्रष्ट देखिएको छ। शनिबार मात्रै कांग्रेस प्रवक्ताले सरकारका पछिल्ला कामले नेकपाको जनमत खस्किरहेको भन्दै प्रधानमन्त्री ओलीलाई सचेत गराएका थिए। उनले वामदेब गौतम कुन क्षेत्रबाट चुनाव लड्ने हुन भनी प्रश्न गर्दै त्यहाँबाट पनि नेकपाको जनमत खस्किरहेको देखिने बताउँदै कांग्रेसले जित्ने दावा गरेका थिए। यस्तो बेला निर्माण व्यवसायीको चुनावमा जनमत खस्किदै गएको देखिएको हो।

प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष ओलीको दल नेपाल निर्माण व्यवसायी महासंघमा पराजित भएको छ । महासंघमा नेपाली कांग्रेसले अध्यक्षसहितका बहुमत पदमा जित हासिल गरेको छ ।

काठमाडौंमा शनिबार मध्यराति सम्पन्न मतपरिणामअनुसार नेपाली कांग्रेस निकटका रवि सिंह अध्यक्षमा विजयी भएका हुन् । सिंहले ५४६ मतसहित भारि मतले विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट अध्यक्षमा उम्मेदवार बनेका यक्षध्वज कार्कीले ३५३ मत पाएर नराम्रोसँग पराजित भएका छन् । अध्यक्षमा चारजनाले उम्मेदवारी दिएका थिए ।

महासचिवमा पूर्वएमाले निकटका रोशन दाहालले विजयी भएका छन् । वरिष्ठ उपाध्यक्षमा राप्रपा (प्रजातान्त्रिक)का निकोलस पाण्डेले जितेका छन् । निकोलस पूर्वमन्त्री विक्रमबहादुर पाण्डेका छोरा हुन् । पाण्डेले झिनो मतअन्तरले विजयी भएका छन् ।

कोषाध्यक्षमा कांग्रेस निकटका हिरण श्रेष्ठ विजयी भएका छन् । सहकोषाध्यक्षमा सरस्वती कार्की विजयी भएकी छिन् । उपमहासविचमा नरहरि थपलिया र टंक चौलागाइँले जित हासिल गरेको निर्वाचन समितिले जनाएको छ ।

महासंघको सात प्रदेशबाट एक–एकजना उपाध्यक्ष विजयी भएका छन् । प्रदेश १ को उपाध्यक्षमा धिरेन्द्र दाहाल, प्रदेश २ मा सुरेन्द्रप्रसाद सिंह, प्रदेश ३ मा पेम्वा लामा, प्रदेश ४ मा राजेन्द्र पहाडी, प्रदेश ५ मा टोपबहादुर रायमाझी, प्रदेश ६ मा रत्नबहादुर खड्का र प्रदेश ७ माप्रकाश सेठी उपाध्यक्षमा विजयी भएका छन् ।

५९ सदस्यीय महासंघको कार्यसमितिमा ५४ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । ५ जना केन्द्रीय सदस्य पछि अध्यक्षले थप गरेर कार्यसमितिलाई पूर्णता दिनेछन् ।