ओलीको निर्णय भुइँमा खस्न नपाउँदै नेकपामा पूर्व माओवादीले गरे विद्रोह, यसरी ठग्यो पार्टीले

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, अशोज ६, २०७५

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिम्मेवारी बाँडफाँडको विषयलाई लिएर पूर्व माओवादीका नेताहरुले असन्तुष्टि जनाएका छन्। प्रदेश इन्चार्जमा पूर्व माओवादीले एक प्रदेशमा मात्रै पाएको छ।

अन्य सबैमा एमालेले कब्जा जमाएको छ। यस्तो बेला पार्टीभित्र पूर्व माओवादीहरुमा असन्तुष्टि बढेका बेला कर्णालीका एक नेता त केन्द्रको निर्णयविरुद्ध विद्रोह नै गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष प्रचण्डसहितको सचिवालय बैठकले बालुवाटारमा प्रदेशको जिम्मेवारी बाँडफाँड गरेको निर्णय बाहिर नआउँदै पूर्व माओवादीमा रहेका नेता मायाप्रसाद शर्माले कर्णाली प्रदेशको सचिव पद अस्वीकार गरेका छन्।

तत्कालिन माओवादी केन्द्रको स्थायी समिति सदस्य रहेका शर्मालाई शुक्रवार बसेको पार्टीको सचिवालय बैठकले कर्णाली प्रदेशको सचिवको जिम्मेवारी दिएको थियो। शर्मा एकीकरणपछि नेकपाको केन्द्रीय सदस्य हुन। नेता शर्मा रामबहादुर थापा बादलसँगै पूर्वमाओवादी केन्द्रमा एकतामा आएका नेता हुन् ।

आफू भन्दा कनिष्ठलाई अध्यक्ष दिएर आपूलाई सचिव बनाईएकाले अपमानित महशुस गरेकोले उक्त पदमा बस्न नसक्ने भन्दै पार्टीको निर्णय नमानेको शर्माले बताएका छन्। यसअघि आफूलाइ प्रदेशको इन्चार्ज या अध्यक्ष चयन गर्ने आश्वासन दिएको तर अहिले प्रदेशको सचिवमा थन्क्याएर राख्न खोजेको शर्माको गुनासो छ।

उनले फेसबुकमा समेत सचिव पदमा नरहने जानकारी गराएका छन्। ‘नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० सचिवालयले नियुक्त गरेको भनिएको कर्णाली प्रदेशको सचिव पदमा नरहने कुराको जानकारी गराउँछु’, उनले फेसबुकमा लेखेका छन् । अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले जे भन्यो त्यही हुने भन्दै शर्माले आपत्ति जनाएको बताइन्छ।