पोर्न साइटमा प्रतिबन्धले नेकपामा हंगामा, ओली र बादलविरुद्ध रावलको कडा प्रतिक्रिया

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, अशोज ६, २०७५

काठमाडौं– यौनजन्य अश्लील सामग्री (पोर्न साइट) मा प्रतिबन्ध लगाउने सरकारको निर्णयले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र हंगामा भएको छ। शान्ति सुरक्षा दिन र बलात्कार हिंसाजस्ता अपराधिक घटना नियन्त्रण असफल भएको सरकारले आफ्नो कमजोरी लुकाउन पोर्न साइटमा प्रतिबन्ध लगाएको भन्दै नेकपाभित्र यो निर्णयको आलोचना सुरु भएको हो।

खासगरी पूर्व एमालेहरुले यो निर्णयलाई अपरिपक्व निर्णय भनेका हुन्। उनीहरुले पोर्न साइटमा प्रतिबन्ध लगाउँदै शान्ति सुरक्षा र बलात्कारका घटनामा कमी नआउने भन्दै ठोस कार्ययोजना ल्याउन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादललाई सुझाव दिएका छन्।

केही दिनअघि गृहमन्त्री बादलले इन्टरनेट र सामाजिक सञ्जालका कारण हिंसाका घटना बढेको भन्दै नियन्त्रण गरिने बताएका थिए। नभन्दै सरकारले पोर्न साइटमा प्रतिबन्ध लगाउने निर्णय त गर्यो तर यो निर्णयको पार्टीभित्रैबाट आलोचना सुरु भएको छ।

नेकपाका प्रभावशाली नेता एवम् पूर्वगृहमन्त्री भीमबहादर रावलले अश्लील सामग्रीमा प्रतिबन्ध लगाउँदैमा शान्ति सुरक्षा र बलात्कारका घटनामा

कमी नआउने भन्दै विशेष सुरक्षा योजना बनाएर शान्ति सुरक्षाको प्रत्याभूति दिनुपर्नेमा जोड दिएका छन्।
‘शान्ति सुरक्षा बनाउन र हिंसा घटाउन विशेष सुरक्षा योजना बनाउनुपर्छ’, सरकारको निर्णयलाई काउन्टर दिँदै रावलले भने, ‘अश्लील सामाग्री प्रतिबन्ध लगाउँदैमा हिंसा घट्छ भन्ने मलाई लाग्दैन।’

सरकारले अश्लील सामाग्रीहरूले गर्दा बलात्कार, महिला हिंसाका घटना भएको दाबी गर्दै त्यस्ता सामाग्रीहरूमा प्रतिवन्ध लगाउने निर्णय गरेको थियो । नेकपाका नेता समेत रहेका रावलले शान्ति सुरक्षाका विषयमा धेरैको चासो र चिन्ता रहेको बताएका छन् ।