निर्मलालाई न्याय दिननसक्ने ओली सरकारले भारतीय आतंकवादीलाई सहिद बनायो, लाखौं क्षतिपूर्ती पनि दियो

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, अशोज ६, २०७५

काठमाडौं– भारतीय प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका खुर्सिद अन्सारीलाई केपी शर्मा ओली नेतृत्वको सरकारले सहिद घोषणा गरेको छ। त्यतिमात्रै होइन भारतमा आतंकवादी कहलिएका खुर्सिदको परिवारलाई १० लाख क्षतिपूर्ति समेत दिइएको छ।

शुक्रबार साँझ बसेको मन्त्रिपरिषद बैठकले बिहीबार सुनसरीमा अज्ञात समूहद्वारा हत्या गरिएका खुर्सिदलाई सहिद घोषणा गर्दै परिवारलाई १० लाख राहत दिने निर्णय गरेको सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए।

कञ्चनपुरमा निर्मला पन्त हत्या काण्ड हुँदा लामो समयसम्म गम्भीर रुपमा नलिएको ओली सरकारले तराईमा भारतीय आतंकवादीलाई सेल्टर दिने खुर्सिद हत्याको छानविनका लागि घटनाको भोलिपल्टै एसएसपीको नेतृत्वमा समिति नै बनायो भने तेस्रो दिनमा सहिद नै घोषणा गर्यो। किनकी खुर्सिद नेकपाका ‘लोकल’ नेता हुन्।

विद्यालय सञ्चालन गरेर शिक्षण संस्थाको आवरणमा अपराध गर्ने र भारतीय आतंकवादीलाई आफ्नो विद्यालयको शिक्षक बनाएर संरक्षण दिने खुर्सिदलाई तत्कालिन एमालेले संरक्षण दिएको थियो। अहिले पार्टी एक हुँदा उनी नेकपामा आबद्ध थिए।

नेकपाको कार्यकर्ता भएकै कारण उनी अपराधी भएपनि राज्य गम्भीर छानविन तथा राहत दिनमा लागेको छ, सहिद नै घोषणा गरेको छ। यसबाट ओली सरकार जनताका लागि भन्दा पनि आफ्ना नेता कार्यकर्ताका लागि बनेको आभाष हुन्छ।