कम्युनिस्टहरूको पुच्छर बनेर उनीहरूले दोहोरो चरित्र देखाएः विमलेन्द्र निधि

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, अशोज ३, २०७५

काठमाडौं – प्रमुख विपक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा जारी भएको संविधानलाई संशोधन गर्ने बेला विनासर्त समर्थन गर्ने बताएका छन् ।

कम्युनिस्ट सरकारले संविधान दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिरहेका बेला ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलन गरी निधिले संविधान संशोधन गरेर मधेसी, जनजाति, आदिवास, दलितहरूको अधिकारलाई अझै समावेश गर्नुपर्ने बताए ।

निधिले सुशील कोइरालाको पालामा ल्याइएको संविधान संशोधनको प्रस्तावलाई जस्ताको त्यस्तै ल्याइए कांग्रेसले विनासर्त सहयोग गर्ने बताएका हुन् ।

‘यो संविधान जारी गर्ने बेला नै तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले संशोधन आवश्यक छ भन्नुभयो । संविधानका सहमत र अहसमत रहेका पक्षहरूको जायजमागलाई कांग्रेसले स्वीकार गरेको थियो’, कांग्रेसका उपसभापति निधिले भने, ‘संविधान जारी भएपछि पनि कांग्रेस नेतृत्वको सरकारले संविधान संशोधन गराएको पनि हो । त्यसबाट धेरै सकारात्मक कुरा भयो ।’

पहिलो संविधानमा माओवादी केन्द्र र मधेस केन्द्रित दलसँग सहमति र सम्झौता भएको थियो । संशोधनका लागि कांग्रेसले प्रयास पनि गरेको थियो’, निधिले भने, ‘तत्कालीन एमालेले संशोधनलाई घोर राष्ट्रघाति र देशघाती भनेर संशोधनलाई साथ दिएन ।’

उनले अहिले पनि कांग्रेस आफ्नो अडानबाट पछि नहटेको बताए । ‘त्यही अनुसारको संविधान संशोधन हुन्छ भने समर्थन गर्छौं । संशोधन आवश्यक छ’, उनले भने, ‘कांग्रेसले चुनावका बेला पनि संविधान संशोधनका लागि प्रतिवद्धता जनाएको थियो ।

सक्रिय सहयोग गर्नेछ ।’
खड्गप्रसाद ओली नेतृत्वको वर्तमान सरकारले संविधान कार्यान्वयनमा ध्यान केन्द्रित नगरेको निधिले आरोप लगाए । ‘तेस्रो संविधान दिवस मनाउँदै गर्दा सरकारले संविधान कार्यान्वयनमा ध्यान दिएको छैन’, उपसभापति निधिले भने, ‘सरकारले संशोधनको पक्षमा चर्चा पनि गरेको छैन । सविधान संशोधनमा झारा टार्ने किसिमले अभिव्यक्ति दिएको छ ।’

निधिले संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले सबैभन्दा धेरै संविधान संशोधनको मुद्धा उठाएको बताउँदै अहिले आएर उनीहरूले नै संशोधनमा ध्यान नदिएको आरोप लगाए । ‘संविधान संशोधनमा राजपा र संघीय फोरमले अडान लिनुभयो । उहाँहरूले सरकारलाई समर्थन पनि गर्नुभयो’, उनले भने, ‘उहाँहरू संविधान संशोधनलाई चर्चा पनि गरिरहनु भएको छैन । संशोधनको पक्षमा कांग्रेस विनासर्त समर्थन गर्नेछ ।’

संविधानले गणतन्त्र, संघीयता, समावेशीता धर्मनिरपेक्षाता र मिश्रित निर्वाचन प्रणालीलाई राखेको भन्दै संविधानलाई थप कार्यान्वयनमा सरकारले ध्यान नदिएकोमा चिन्ता जनाए । ‘सरकार अरु विषयमा अन्यत्र अलमलिएको छ’ निधिले भने, ‘सात प्रदेशको निर्वाचन भयो । मुख्यमन्त्री र मन्त्री भए । तर, सुरक्षा, निजामती कर्मचारी जस्ता प्रदेशलाई कार्यसम्पादनको लागि आवश्यक पर्ने प्रादेशिक संगठनात्मक संरचना दिइएको छैन ।’

कांग्रेसका उपसभापति निधिले केन्द्र सरकारले कानून दिनुपर्ने भएपनि अहिलेसम्म कुनै अधिकार नदिएको आरोप लगाए । ‘संघीयता कार्यान्वयनमा निर्वाचनपछि केही पनि काम भएको छैन ।

यो सबैभन्दा चिन्ताको विषय हो’, उनले भने, ‘सरकार र दलहरूले संघीय संरचनाको लागि आवश्यक कानून, बजेट र ऐन दिनुपर्छ । कांग्रेसले सरकारलाई ध्यानाकर्षण गराउँछ ।’

संघीय फोरम र राजपा नेपालले संविधानविरुद्ध कालोदिवस मनाएकोप्रति असन्तुष्टि जनाउँदै निधिले भने, ‘तराईवासाीले कालो दिवस मनाएका छैनन् । कालो दिवस राजपा र संघीय फोरमले मनाएकोमा आश्चर्य मानेका छन् ।’

‘मधेसी जनताले संविधान संशोधन चाहेका थिए । कांग्रेसकै नेतृत्वमा पहिलो पटक एकचरणमा संशोधन भएको छ’, उनले भने, ‘संघीय फोरम र राजपा चुनावमा भाग लिनुभयो । भाग लिएपछि कालो दिवस मनाउनुको के अर्थ छ रु यो दोहोरो चरित्र हो । बरु संविधानलाई थप परिमार्जन र परिपक्व कसरी बनाउने भनेर लाग्नुपर्ने हो ।’