निर्मला पन्तको गाउँमा फहरायो कांग्रेसको चारतारे झण्डा, कम्युनिस्ट सरकारलाई चेतावनी

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, अशोज २, २०७५

महेन्द्रनगर – कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारी–हत्यारालाई कानूनी दायरामा ल्याउनुपर्ने माग गर्दै नेपाली कांग्रेस चारतारे झण्डासहित सडकमा उत्रिएको छ ।

देशभर निर्मला पन्तको पक्षमा प्रदर्शन भइरहेका बेला नेपाली कांग्रेस कञ्चनपुरले गृहजिल्लामा न्यायको माग गर्दै चारतारे झण्डासहित प्रदर्शन गरेको हो । भीमदत्तनगर बजारमा प्रदर्शन गर्दै कांग्रेस कञ्चनपुरले जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीलाई हत्यारालाई कारबाहीको मागसहित ज्ञापन पत्रसमेत बुझाएको छ ।

हत्या भएको ५५ दिन बितिसक्दा पनि वास्तविक हत्यारालाई कानुनी दायरामा ल्याउन नसकेको भन्दै नेपाली कांग्रेस कञ्चनपुरका पार्टी सचिव दिवाकर पाण्डेयले आफूहरुको मागबारे बेवास्ता गरिए शसक्त आन्दोलन गर्ने चेतावनीसमेत दिए ।

उनले तेस्रो पटक कांग्रेसले ज्ञापनपत्र बुझाएको स्मरण गराउँदै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र प्रधानमन्त्री कार्यालयमा पेश गर्न आग्रह गरे ।

निर्मला पन्तका आमाबुवाले सोमबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर न्यायका लागि पहल गरिदिन माग गरेका थिए । सरकारले बलात्कारी–हत्यारालाई जोगाउन काम गरिरहेको भन्दै कांग्रेस शुरूदेखि नै न्यायका पक्षमा थियो ।