ओलीको पार्टीमा खतरनाक खेल, ओली र प्रचण्ड गुट एकअर्कालाई नंग्याउँदै (विज्ञप्तिसहित)

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, भदौ १, २०७५

सिन्धुपाल्चोक – संघीय सरकारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री भएर सरकारको नेतृत्व गरिरहेका बेला नेकपाकै जिल्ला स्तरका नेता एकअर्कालाई नंग्याउने अभियानमा लागेका छन् ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएपछि अहिले जिल्लामा संगठन एकीकरण अभियान चलिरहेको छ । यही सन्दर्भमा जिल्ला स्तरका नेता कार्यकर्ता एकअर्कामा लडाइ गर्न थालेका छन् ।

सिन्धुपाल्चोकमा नयाँ नेतृत्व चयनका विषयमा भएको विवाद उत्कर्षमा पुगेको छ । सांसद सरेश नेपालसहित पूर्व जिल्ला अध्यक्ष हस्त पण्डित, जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठ, युवा नेता शशीनाथ आचार्य, अशोक चौलागाईंलगायत आठ जना पूर्व एमालेको एक समूहले विज्ञप्ति नै निकालेर जिल्ला नेतृत्वका लागि भएको भनिएको सिफारिसप्रति घोर आपत्ति जनाएसँगै विवाद उत्कर्षमा पुगेको हो ।

वडाध्यक्ष्यद्वय ईश्वर तिमल्सिना, चरीबहादुर तामाङ, माधवप्रसाद आचार्य र अध्यक्षका दाबेदार बालकृष्ण देउजासहितको हस्ताक्षरमा जारी विज्ञप्तिमा पार्टी पद्दतिविपरीत नेतृत्व सिफारिस भएप्रति आपत्ति जनाइएको छ । उनीहरुले विज्ञप्तिमार्फत गरिएको भनिएको सिफारिस नसच्याए कडा कमद चाल्न बाध्य हुने चेतावनी दिएका छन् ।

माओवादीको प्रचण्ड लाइन र एमालेको माधव नेपाल लाइनका नेताहरु मिलेर केन्द्रमा सिफारिस गरेको नेतृत्वको नामप्रति एमालेको केपी शर्मा ओली लाइन र माओवादीको प्रचण्डतिर लाइनका नेताहरुले आपत्ति जनाएका हुन् । सिन्धुपाल्चोकको पूर्वमाओवादीमा भने प्रचण्ड लाइनभन्दा पनि नेता अग्निप्रसाद सापकोटा र उनीतर्फको फरक लाइन छ ।

पूर्वएमाले र माओवादीका केही नेताले अध्यक्षमा पूर्वएमालेका पूर्वअध्यक्ष झम्क नेपाल, ईन्चार्जमा पूर्वमाओवादीका तर्फबाट कृष्णप्रसाद सापकोटा र सचिवमा पनि पूर्वमाओवादीबाटै चन्द्र थापा र अमृता नेपाललाई सिफारिस गरेको छ ।

पूर्वएमालेले नेतृत्व सिफारिसका लागि सात सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलमा रहेका ओली समूहका दुई सदस्यः सरेश नेपाल र हस्त पण्डित काठमाडौंमा नभएको बेला बैठक बसेर सहमति भएको भन्दै जबरजस्त नाम सिफारिस गरिएको बताइएको छ । यसले नेकपा सिन्धुपाल्चोकमा दीगो रुपमा नै विवाद कायम राख्ने सम्भावना बढाएको छ ।

बाहिर देखाउन ओली र प्रचण्डले जतिसुकै एकताको कुरा गरेपनि कम्युनिस्ट पार्टीभित्र एकअर्कालाई खुइल्याउने र नंग्याउने कार्य भइरहेको छ । जसले गर्दा कम्युनिस्ट पार्टी ध्वस्त हुने निश्चित जस्तै छ । कम्युनिस्टहरू आपसमा लडेरै सकिने छन् ।