शुक्रबार मध्यराति बालुवाटारमा यसरी छायो खुसीयाली, दङ परे प्रधानमन्त्री ओली

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, साउन ४, २०७५

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृद्धिलाई अवरोध गर्ने कुरा प्रजातन्त्र नभएको बताएका छन् ।

राजधानीमा शुक्रबार आयोजित नेत्रहीन संघको रजत महोत्सव र पर्यटन व्यवसायीहरूसँगको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेसतर्फ संकेत गर्दै लोकतन्त्र विरोधीको आरोप लगाएका हुन् । दाहालको भनाइले केपी ओली नेतृत्वको सरकारलाई केही राहत मिलेको छ । तर, दाहालले स्पष्ट रुपमा ओलीको बचाउ भने गरेका छैनन् ।

यद्यपि, अध्यक्ष दाहालको यो भनाइले बालुवाटारमा शुक्रबार खुसीयाली छाएको छ । कम्युनिस्ट सरकारलाई चारैतिरबाट आक्रमण भएका बेला दाहालको भनाइले बालुवाटारलाई ारहत मिलेको छ ।

दाहालले नकारात्मक ढंगबाट राजनीति गर्नेहरूलाई निरुत्साही गर्ने र स्थिरता र समृद्धिको वातावरण बनाउनेतिर पार्टी र सरकार केन्द्रित भएको बताए ।

अध्यक्ष दाहालले भने, ‘अनावश्यक ढंगले वातावरण नबिग्रियोस भन्नेतिर हामी लागेका छौं । कसैको माग र जिद्धिका अगाडि राज्य झुक्ने कुरा सम्भव छैन । जिद्धि कसेर यही हुनुपर्छ भन्ने कुरा प्रजातन्त्र होइन ।’

उनले अराजकता र अस्थिरतामा रमाउने एउटा वर्गलाई यो राजनीतिक स्थिरता मन नपरेको बताए । ‘अस्थिरता, अराजकतामा रमाउनेहरू, अस्थिरता र अराजकताबाट ब्रम्हलुट मच्चाएर करोडौं, अरबौ कुम्ल्याउनेहरू अहिले त्यति खुसी छैनन्’, उनले भने ।

देशमा भर्खरै ७० वर्ष लामो राजनीतिक अराजकता र अस्थिरतालाई तोड्दै एउटास्थिर सरकार बनेको बताउँदै अस्थिरता र अराजकतमा रमाउन पल्केका त्यस्ता तत्वहरू अहिले पनि यो स्थिरता नहोस् भनेर कुनै न कुनै रुपमा वातावरण धमिल्याउनेतिर लागेको दाहालले बताए ।

उनले भने, ‘उचित कुराहरुलाई सम्बोधन गर्दै उचित ढंगले त्यस्ता तत्वहरुलाई प्रतिवाद गर्दै अगाडि बढ्नुपर्छ ।’

‘समावेशी र सबैको समानुपातिकता सहितको समृद्ध नयाँ नेपालको निर्माण गर्ने संकल्प गरेका छौं’, उनले भन, ‘विस्तारै हामीहरू संविधानमा व्यक्त गरिएका बिचार र भावना अनुसार ऐन र आयोग बनाउने प्रक्रियामा लागेको छौं ।’