काँग्रेसको नेतृत्व परिवर्तन हैन ,जनमुखी सेवाभाव र व्यावहारिक हुनेतर्फ आफैँ परिवर्तन हुनुपर्ने: सभापति देउवा

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, असार ५, २०७५

हेटौँडा –  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दुईतिहाइ बहुमतको दम्भले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संविधान र प्रजातन्त्रलाई धरापमा पार्न उद्धत रहेको आरोप लगाएका छन् ।

काँग्रेसका जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाको मंगलवार हेटौँडामा उद्घाटन गर्दै उनले सरकारले संवैधानिक अंग, प्रशासनिक निकायमा राजनीतिकरण गर्न थालेको भन्दै चिन्ता व्यक्त गरे।

उनले गुट उपगुटको राजनीति त्यागेर समष्टिगत रुपमा देश र जनताप्रति उत्तरदायी हुँदै एकढिक्काको साथ राष्ट्रिय अभियानमा समाहित हुन जिल्ला सभापतिहरुलाई आह्वान गरे।

सभापति देउवाले प्रजातान्त्रिक चरित्र र संस्कारलाई दिगो व्यवस्थापन गर्न काँग्रेसको नेतृत्व परिवर्तन हैन कार्यकर्ताबीच जनमुखी सेवाभाव र व्यावहारिक हुनेतर्फ आफैँ परिवर्तन हुनुपर्नेमा सचेत गराए ।

साँझदेखि बन्दसत्र

जिल्ला सभापतिको भेलाको आजै साँझबाट बन्दसत्र शुरु हुने काँग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बाँनियाले जानकारी दिए  ।

भेलामा नेपाली काँग्रेसका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, ७७ जिल्लाका सभापति, प्रदेश ३ का प्रदेशसभा सदस्य र पर्यवेक्षक गरी ५७५ प्रतिनिधिको सहभागिता रहेको नेका मकवानपुरले जनाएको छ ।