कांग्रेसको पावरले तर्सिए शंकर पोखरेल, प्रदेश ५ मा भयो हंगामा

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, असार ५, २०७५

बुटवल – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अडानसामु प्रदेश नम्बर ५ का मुख्यमन्त्री एवं नेकपाका प्रभावशाली नेता शंकर पोखरेलले घुँडा टेकेका छन्।

 

कांग्रेसले पोखरेल नेतृत्वको प्रदेश ५ सरकारले ल्याएको बजेटमा असहमति जनाउँदै प्रदेश सभा बैठक अवरुद्ध गरेको थियो। प्रदेशका स्थायी संरचना निर्माण र अन्य महत्वपूर्ण विकास निर्माणमा बजेट विनियोजन नभएको भन्दै कांग्रेस सांसदहरुले सोमबारको प्रदेश सभाको बैठक अवरुद्ध गरेपछि मंगलबार एक बजेसम्मका लागि स्थगित गरिएको थियो ।

 

उक्त बैठक खोल्न र बजेट पारित गराउन मुख्यमन्त्री पोखरेलले कांग्रेससँग घुँडा टेक्दै वार्ता थालेका हुन्। मंगलबार विहान आफ्नै निवासमा कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेल, सचेतक निर्मला क्षेत्री, सदस्यहरु रमा अर्याल, अष्टभुजा पाठक लगायतलाई बोलाएर मुख्यमन्त्री पोखरेलले छलफल गरेका हुन्।

 

छलफलमा आफूहरुले उठाएका विषयको चित्तबुझ्दो गरी सम्वोधन नभएसम्म प्रदेश सभा बैठक चल्न नदिनेमा विषयमा सहमति भएको संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले बताए। ‘हाम्रा माग सम्बोधन नभएसम्म संसद चल्न नदिने भन्नेमा साथीहरुले जोड दिनुभएको छ।’

 

यता २ घण्टा लामो वार्तामा प्रदेश सरकारले माग सम्बोधन गर्ने भनेपछि काग्रेस प्रदेशसभाको अवरोध हटाउन सहमत भएको छ ।  कांग्रेस नेताहरुसँग मुख्यमन्त्री शंकर पोखरेलले मंगलबार बिहान छलफल गरेका थिए ।

 

आफ्ना माग सम्बोधन गर्न सरकार तयार भएकाले संसद पुनः सुरु गर्न सहमत भएको प्रतिपक्षी कांग्रेसका संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले जानकारी दिए । उनका अनुसार सडक डिभिजन परिसरमा रहेको आफ्नै निवासमा भएको छलफलमा मुख्यमन्त्री पोखरेलले विपक्षीका जायज माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए। प्रदेश सभा बैठक आज दिउँसो बस्ने भएको छ ।