राष्ट्रपति भण्डारी सामन्ती युगको महारानीः राजेन्द्र श्रेष्ठ

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, जेष्ठ ११, २०७५

काठमाडौं – संघीय समाजवादी फोरम, नेपालका सहध्यक्ष एवम् सांसद राजेन्द्रप्रसाद श्रेष्ठले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सामन्ती युगको महारानी जस्तो बनाउन खोजेको भन्दै केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारको आलोचना गरेका छन् ।

 

संसदको बिहीबारको बैठकमा धारणा राख्ने क्रममा सांसद श्रेष्ठले संघीय गणतन्त्र नेपालको राष्ट्रपतिलाई सामन्ती युगको महारानी जस्तो नबनाउन नेपाल सरकारसँग अनुरोध गरे ।

 

राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गर्दा सभामुख र अध्यक्षलाई सम्मानीय नभनेर संसदीय परम्परा विपरित आदरार्थी पदावली नै सम्बोधन गरेकी थिइनन् । कांग्रेससहितका दलहरूले राष्ट्रपति भण्डारीको यो शैलीको विरोध गर्दै आएका छन् । कांग्रेसले त संशोधन प्रस्ताव नै दर्ता गराएको छ ।

 

‘यो कुरा नीति र कार्यक्रममा सभामुख तथा राष्ट्रियसभाको अध्यक्षलाई सम्मानित ढङ्गले सम्बोधन गरिएन’, उनले भने, ‘राष्ट्रपतिको आगमनमा राजाको सवारी जस्तो तामझाम गरियो ।’

 

सांसद श्रेष्ठले नीति तथा कार्यक्रममा संविधान संशोधनको विषयमा कुनै कुरा उल्लेख नभएको भन्दै आपत्ति जनाए । उनले नीति र कार्यक्रमले एकात्मक तथा केन्द्रिकृत राज्यको झल्को दिने गरेर आएको आरोप लगाए ।