नीति तथा कार्यक्रम ओलीको भाषण जस्तै अविश्वसनीयः कांग्रेस

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, जेष्ठ ७, २०७५

काठमाडौं – प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्री केपी ओलीको भाषण जस्तै अविश्वनीय रहेको टिप्पणी गरेको छ ।

कांग्रेस नेता एवं पूर्वअर्थमन्त्री डा.रामशरण महतले प्रधानमन्त्रीले दश वर्षमा मुलुक स्वर्ग हुन्छ भनेजस्तै शैलीमा नीति तथा कार्यक्रम ल्याइएको आरोप लगाए ।

‘नीति तथा कार्यक्रम एउटा डिरेक्सन हो । यसले कार्यान्वयन गर्न सक्ने विश्वसनीय आधार देखाएको छैन’, डा.महतले भने, ‘अनुशासन, निष्पक्षताको ग्यारेन्टी र काम गर्ने संस्कृतिमा सुधार नल्याएसम्म नीति तथा कार्यक्रम अनुरुप विकास सम्भव देखिन्न ।’

कांग्रेस नेता डा.महतले कर्मचारी प्रशासनमा गरीरहेको सरुवा आतंकले निष्पक्षताको ग्यारेन्टी दिन नसक्ने बताए । ‘नीति तथा कार्यक्रममा विभाग, मन्त्रालय र सामान्य कार्यालयले गर्ने कामलाई समेत समेटिएर लामो र भद्धा बनाइएको छ’, उनले भने ।

‘सरकारको नीति तथा कार्यक्रममा महत्वपूर्ण र नयाँपन देखिन सक्नुपर्छ, तर लामो र महत्वकांक्षी कार्यक्रम सार्वजनिक गरेको छ’, डा.महतले भने, ‘एक वर्षको नीति तथा कार्यक्रम पञ्चवर्षीय योजना जस्तो बनेको छ ।’

‘सरकारको काम गर्ने तौरतरिका र अुनशासन हिनताका कारण कार्यन्वयनमा धेरै शंका छ’, डामहतले भने, ‘कार्यान्वयनमै शंका छ । नीति तथा ठोस कार्यक्रम बजेटमा कसरी रुपान्तरण हुन्छ त्यसमा पनि भर पर्छ ।’

कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले योजनाको प्राथमिकता नतोकिकनै नीति तथा कार्यक्रम आएको बताए । उनले विकास र सम्बृद्धिको लक्ष्यलाई पूरा गर्न नसक्ने दावी गरे ।

‘नीति तथा कार्यक्रम भद्धा निवन्ध जस्तो मात्रै छ । यसले नत योजनाको प्राथमिकता समेट्न सकेको छ, नत कार्यन्वयनको पक्षलाई विश्वसनीय बनाउन सकेको छ’, कार्कीले भने, ‘विकास र सम्बृद्धिको यात्रालाई अघि बढाउन सक्ने योजना र बाटो समेत यसले देखाउन सकेको छैन ।’