बालुवाटार पुगेर रावलले ओलीलाई दिए दनक, आफ्नो विचारमा सुनुवाई नभए जे पनि हुने दिए चेतावनी

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, जेष्ठ ७, २०७५

काठमाडौँ- एमाले–माओवादी केन्द्रबीचको पार्टी एकतालाई नरुचाएका अण्डरलाइन नेपाल कम्युनिष्ट पार्टीका नेता भीम रावल पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग गम्भीर असहमति जनाएका छन् ।

 

रावलले आइतबार ओलीलाई आकिस्मक रुपमा भेटी आफ्ना असन्तुष्टि पोखेका हुन् । अपरान्ह ४ बजे आकस्मिक रुपमा ओलीलाई भेट्न बालुवाटार पुगेका रावलले खुल्लमखुल्ला चुनौती दिँदै निर्णयहरूमा सुधार नभए जे पनि हुन सक्ने भन्दै चेतावनी दिएका छन् ।

 

‘उहाँले अध्यक्षलाई भेटी आफूहरू जस्तो पनि कदम चाल्न सक्ने चेतावनी दिनुभयो’, स्रोतले जनाएको छ ।

 

अध्यक्ष ओलीले आफूहरूसँग कुनै परामर्श नगरी निर्णय गरेको, पारदर्शिता नदेखाएको र पाखा लगाउने काम गरेको भन्दै रावलले असन्तुष्टि जनाएका हुन् ।

 

बालुवाटारमा रावलले ओलीसँगै नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपालसँग पनि छलफल गरेका थिए । उनीहरूले रावलको उठाएको विषयलाई सम्बोधन गर्ने आश्वासन दिएको स्रोतको भनाइ छ ।

 

नेता रावलले पार्टीमा पर्याप्त छलफल नगरी माओवादी केन्द्रसँग पार्टी एकता गरेको तथा आफूसहितका प्रभावशाली नेताहरूलाई स्थायी समिति सदस्यमा मात्र सीमित गरेको आरोप लगाएका छन् ।

 

४० जना मनोनीत केन्द्रीय सदस्यमा चयनमा आफूहरूसँग कुनै छलफल नगरेको भन्दै रावलले आफ्ना मानिसहरूलाई ओलीले पाखा लगाएको आरोप लगाएका छन् ।

 

उनले सरकारबाट गरिने राजनीतिक नियुक्तिमा पनि बाइपास गरेको गुनासो गरेका छन् ।