पार्टी एकीकरणको गरेको भोलिपल्ट प्रचण्डलाई चक्मा दिदै ओलीले गरे यति ठुलो खेल !

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, जेष्ठ ४, २०७५

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले एकीकृत नेपाल कम्युनिष्ट पार्टीका नेता प्रचण्डको सपनालाई चुनौती दिएका छन्। एमाले नेताहरुका अनुसार ओलीले विष्णू पौडेललाई एकीकृत पार्टीको महासचिव बनाएर भावी अध्यक्षको रुपमा अघि सारेका छन्। यसले एकीकृत पार्टीको अध्यक्षमा दाबी गर्दै आएका प्रचण्डलाई चुनौती थपिएको हो।

 

दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्र मिलेर बनेको ‘नेपाल कम्युनिष्ट पार्टी’मा सबैभन्दा धेरै फाइदा एमालेका तत्कालीन उपमहासचिव रहेका पौडेललाई नै भएको छ ।

 

किनकी उनी पार्टीका महासचिव ईश्वर पोखरेललाई उछिन्दै केपी ओलीका विश्वासपात्रका रुपमा उदाएका छन् । नौँ सदस्यीय हाइकमाण्डमा निर्वाध रुपमा पर्न सफल भएका पौडेललाई ओलीले महासचिव बनाएर पुरस्कृत गरेका छन् । उनीसँग पुरस्कृत हुनेमा माओवादीका नारायणकाजी श्रेष्ठ र एमालेका माधवकुमार नेपाल रहेका छन् । श्रेष्ठले प्रवक्ताको जिम्मेवारी पाएका छन् । नेपालले पहिलो नम्बरको वरिष्ठतम् नेताको पद पाएका छन् ।

 

पौडेलले एमालेका सबै नेताहरूलाई उछिनेर महासचिव जस्तो पद पाउनुलाई सबैले महत्वका साथ हेरेका छन् । एमालेका एक नेताले भने, ‘अध्यक्ष केपी ओलीज्यूले विष्णु पौडेलजीलाई यति धेरै विश्वास गर्नुभएको रहेछ । अब पौडेल नै ओलीको उत्तराधिकारी हुन् ।’

 

स्रोतका अनुसार ओलीले नेपाल कम्युनिष्ट पार्टीको भावी अध्यक्षका रुपमा पौडेललाई अगाडि बढाउने संकेत गरेका छन् । नेकपाको भावी अध्यक्ष बन्ने सपना देखेका प्रचण्डलाई पौडेलका कारण चुनौती थपिने पक्का छ ।

 

ओलीले धेरै मन नपराएका झलनाथ खनाललाई वरीयतामा नेता नेपालभन्दा पछाडि राखेका छन् । ओलीको कट्टर आलोचक खनाललाई पार्टी एकीकरणले धक्का दिएको छ ।

 

पार्टीभन्दा बढी व्यक्तिगत कामका लागि सक्रिय हुने गरेको आरोप खनालमाथि छ । खनाल पार्टी एकता घोषणा कार्यक्रममा पनि सहभागी भएनन् । बरु चीनतिर प्रस्थान गरे ।

 

ओलीले एमालेका महासचिव ईश्वर पोखरेललाई घटुवा गरेका छन् । पोखरेल अब स्थायी समिति सदस्य मात्रै रहनेछन् । आफूलाई एमालेको भावी अध्यक्षका रुपमा प्रस्तुत गर्दै आएका पोखरेलले मन्त्री बन्न लोभ देखाउनुका साथै एमाले–माओवादीबीचको एकता प्रक्रिया भाँड्न पटक–पटक भूमिका खेलेका थिए । त्यसको बदला ओली–प्रचण्डले महासचिव पद खोसेर लिएका छन् ।

 

पार्टी एकीकरणपछि धोका पाउनेमा एमालेका शंकर पोखरेल पनि छन् । पोखरेलाई कुनै जिम्मेवारी दिइएको छैन । ओलीका विश्वासपात्रका रुपमा चिनिएका पोखरेल प्रदेश ५ को मुख्यमन्त्री बनेसँग छायाँमा परेका छन् । उनको पनि राजनीतिक यात्रा संकटमा परेको एमालेका एक नेताले बताए ।