पार्टी एकीकरण भएपछी कांग्रेसको यस्तो प्रतिक्रिया !

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, जेष्ठ ४, २०७५

काठमाडौं – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले दुई ठूला कम्युनिष्ट पार्टी एक हुनु सकारात्मक भएको टिप्पणी गरेका छन् ।

 

नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै भण्डारीले दुई पार्टी मिल्नुले राष्ट्र निर्माणमा सकारात्मक प्रभाव पर्ने बताए । ‘दुई ठूला कम्युनिष्ट दल मिल्दा नेपाली कांग्रेसलाई अझ बढी फाइदा हुन्छ’, उनले भने, ‘विगतमा कांग्रेसका सभापति शेरबहादुर देउवाको कमजोरीका कारण कम्युनिष्टहरूले मौका पाएका हुन् ।’

 

‘कांग्रेसको नीति, दृष्टीकोण, विचार, कार्यकर्ता नराम्रो भएर होइन, नेतृत्वको स्वार्थ र कमजोरीका कारणले कांग्रेस कमजोर भएको हो’, उनले भने ।

 

‘कांग्रेसमा नयाँ नेतृत्व निर्माण गर्न बाध्य हुन्छ । कम्युनिष्टसँग प्रतिपर्धा गर्न संगठन मजबुत बनाउन बाध्य हुन्छ’, उनले भने, ‘समयअनुसार चल्न कांग्रेस बाध्य हुन्छ ।’ दुई दल मिलेर चुनाव लडेपछि नै एकता पनि हुन्छ भन्ने आफूलाई लागेको भण्डारीले बताए ।

 

‘मैले कहिल्यै पनि एकता हुँदैन भनिन् । तर एकता हुँदैन भन्ने पनि धेरै थिए । एकतामा विश्वास नगर्ने काग्रेसका नेताहरूकै कारण कांग्रेसले चुनावमा पराजय बेहोरेको हो’, भण्डारीले भने ।

 

अबका दिनमा सत्तापक्षले प्रतिपक्षलाई सम्मानजनक व्यवहार नगरेमा सत्तापक्षलाई घातक हुन सक्नेप्रति भण्डारीले सचेत गराए । ‘जहिलेसम्म हारेका सिंहलाई गाली गरिरहन्छ, तबसम्म सकारात्मक नतिजा आउँदैन’, उनले भने ।

 

राजनीतिक स्थिरता र विकासका लागि नेताहरु इमानदार हुनुपर्ने उनको तर्क छ । नेपाल कम्युनिष्ट पार्टीले देश बनाउनुभन्दा अगाडि पार्टीभित्रको विकृति नियन्त्रण गर्नुपर्ने उनको सुझाब छ ।