पार्टी एकताको मुख्य डिजाइनरलाई सुरुमै भयो धोका, एमालेका पौडेललाई पुरस्कार !

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, जेष्ठ ३, २०७५

काठमाडौं – पार्टी एकीकरणमा ठूलो भूमिका खेलेका माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई सुरुवाती चरणमै ठूलो झट्का लागेको छ ।

 

एमाले–माओवादी केन्द्रको एकतापछि बनेको ‘नेकपा कम्युनिष्ट पार्टी’को ९ सदस्यीय हाइकमाण्डमा शर्मा छुटेका छन् । पार्टी एकीकरणमा खटपट भएका बेला केपी ओलीको निर्देशनमा विष्णु पौडेलसँग मिलेर पुष्पकमल दाहाल प्रचण्डलाई पार्टी एकीकरण गराउन शर्माले नै भूमिका खेलेका थिए ।

 

प्रचण्डभन्दा पनि ओलीको विश्वासपात्रका रुपमा हेरिएका शर्मालाई हाइकमाण्डमा नराखेर कारबाही गरेको भनेर बालुवाटारमा टिप्पणी भएको छ । यो निर्णयले शर्मालाई झट्का लागेको छ ।

 

हाइकमाण्डको प्रवक्ताको जिम्मेवारी माओवादीका नारायणकाजी श्रेष्ठले पाएका छन् । एमालेका विष्णु पौडेललाई महासचिवको जिम्मेवारी दिइएको छ ।

 

पौडेलले संगठनको काम गर्नेछन् । शर्माले पौडेलसँग मिलेर पार्टी एकीकरणमा ठूलो भूमिका खेलेका थिए । पौडेल हाइकमाण्डको जिम्मेवारीसहित पुरस्कृत भए । तर, शर्मालाई हाइकमाण्डमा राखिएन । हाइकमाण्डमा नपरेपछि शर्माले मन अमिलो बनाएका छन् ।

 

हाइकमाण्डमा ओली र प्रचण्डका साथै माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल रहनेछन् ।