एमालेसँग आखिर कहाँ–कहाँ चुक्यो माओवादी ? यस्तो छ नालीबेली

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, जेष्ठ ३, २०७५

काठमाडौं – प्रमुख सत्तारुढ दल एमालेले माओवादी केन्द्रसंग पार्टी एकीकरण गर्ने निर्णय गरेको छ ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको स्थायी समिति बैठकले पार्टी एकता अन्तिम टुंगो लगाउने निर्णय गरेको हो ।

 

बैठकपछि पत्रकारसंग कुरा गर्दै सचिव योगेश भट्टराईले बिहीबार बैठक बसेर माओवादीसंगको एकता प्रक्रिया टुंगो लाग्ने बताए ।

 

पार्टी एकताको विहीवार मदन–आश्रति स्मृति दिवसको अवसर पारेर बल्खुमा घोषणा हुनेछ । विहीबार नै ‘नेपाल कम्युनिष्ट पार्टी’को नाममा निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी पनि एमाले र माओवादीले गरेका छन् ।

 

दुई पार्टीको सहमति अनुसार चुनाव चिहृन सूर्य नै रहनेछ । एमाले र माओवादीबीचको एकतापछि बन्ने नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति ४४१ सदस्यीय हुनेछ ।

 

केन्द्रीय कार्यसमितिमा एमालेबाट २४१ र माओवादीबाट २०० जना हुनेछन् । ४३ सदस्यीय स्थायी समितिमा एमालेबाट २५ र माओवादीबाट १८ जना रहनेछन् ।

 

एमाले समक्ष माओवादीले धेरै कुराहरूमा सम्झौता गरेको आरोप लागेको छ । चुनाव चिन्हदेखि सैद्धान्तिक विषयहरूमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली समक्ष सम्झौता गरेको भनेर आलोचना भएको छ ।