गगन थापाले खोक्रो राष्ट्रवादको पोल खोलेपछि प्रधानमन्त्री ओली यसरि आत्तिए

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, जेष्ठ २, २०७५

काठमाडौं – नेपाली कांग्रेसका युवा नेता गगन थापाले खोक्रो राष्ट्रवादको पोल खोलेपछि प्रधानमन्त्री केपी शर्मा ओली आत्तिएका छन् । गगनले सोमबारको संसद बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणमा राष्ट्रवाद नांगिएको भन्दै प्रश्न उठाएपछि ओलीले मंगलबार राजधानीमा आयोजित कार्यक्रममा आफ्नो बचाउ गर्ने प्रयास गरेका हुन्।

 

हिजो अरुलाई लम्पसारवादी भन्ने केपी ओलीलाई आज सुपर लम्पसारवादी भन्न पाइने कि नपाउने भनेका भन्दै गगनले प्रश्न उठाएका थिए।

 

उनले भारतीय राष्ट्रपतिको नेपाल भ्रमणमा ओलीले ‘भ्रमण ठीक छ, तर यो तामझाम हेर्दै गर्दा लम्पसारवादी भन्न मन लागेको छ’ भनेको स्मरण गर्दै भनेका थिए, ‘मेरो परिभाषा होइन, उहाँकै परिभाषामा सरकारको यो तामझाम हेर्दा मैले महा लम्पसारवादी भन्न पाउने कि नपाउने र?’

 

प्रधानमन्त्रीले रोष्ट्रममा उभिएर ‘भारतले नेपालमा कहिल्यै नाकाबन्दी गर्दैन’ भनेर जिम्मा लिएको भन्दै उनले ‘हिजो भारतसँग कुराकानी गर्नुपर्छ भन्दै गर्दा सत्तामा बस्नेहरुले घुँडा टेक्दा घुँडामा घाउ भयो भन्नुभएको थियो । हिजो भारतको जिम्मा लिएर रोष्ट्रममा उभिएर प्रधानमन्त्रीलाई मैले तपाईको घुँडामा भ्वाङ पर्‍यो कि परेन भनेर सोध्न पाउने कि नपाउने ?’ भनी प्रश्न गरेका छन् ।

 

गगनको गर्जनले आत्तिएका ओलीले मंगलबार युवा संघको स्थापना दिवसमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले बचाउ गर्ने प्रयास गरे। ओलीले भने, ‘उहाँहरुको बोलाइ म सुन्दैछु, घुँडामा भ्वाङ पर्‍यो होला। मैले हजुर, यसपल्ट संविधान संशोधन सकिन । अर्का पल्ट गर्छु माफ पाउँ भनेको छु र घुँडामा भ्वाङ पर्नलाई ?’

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा पनि आफूले नेपालको हितलाई केन्द्रमा राखेर दृढतापूर्वक आफ्ना कुराहरु राखेको दाबी गर्दै ओलीले मोदीको नेपाल भ्रमणको विषयलाई लिएर विरोध गर्नेहरुको मानसिकता नै विरोधले ग्रस्त गरेको टिप्पणी गरे। आफ्नो सरकारले भारतलाई नेपालको सार्वभौमसत्ता, स्वाधीनता, अखण्डतालाई सम्मान गर्छौ भन्न लगाएको उनको दाबी छ।

 

राष्ट्रवादको नाममा भारतविरुद्ध उफ्रिरहन्छन् भन्ने भ्रम भएको भन्दै उनले भने, ‘भारतका विरुद्ध उफ्रन होइन, नेपालको हितको रक्षा गर्ने हाम्रो काम हो ।’ भारत, चीन सबैसँग सुमधुर सम्बन्ध राखेर विकासमा सहयोग लिने उनले बताए ।

 

यस्तो थियो गगनको गर्जन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका भ्रमणबारे अनेक टिप्पणी भइरहेको तर, उनी स्वयंले तीर्थयात्रा भनेकाले त्यसप्रति आफ्नो कुनै चासो नरहेको सांसद थापाले बताए ।

 

तर, उनले प्रधानमन्त्री ओलीमाथि प्रश्न गरे । उनले भनेका छन्, ‘म सम्झन्छु, त्यो रोष्ट्रममा उभिएर विश्वासको मत माग्दै गर्दा गर्जनुभएको प्रधानमन्त्री । अनि मैले हिजो देखे, शब्द खोज्दै गरेको प्रधानमन्त्री, केही लुकाउन छोप्न खोज्दै गरेको प्रधानमन्त्री । प्रधानमन्त्री गर्जनुभएको त्यो दिन सम्झिएँ मैले ।’

 

तर, गर्जिने बादल बर्सदैन भन्ने आफूलाई राम्रोसँग थाहा भएकाले अचम्म नलागेको उनले सुनाए ।

 

मोदीको भ्रमणबारे जानकारी दिने क्रममा प्रधानमन्त्रीले ‘देशको हित विपरित कुन पनि काम गरेको छैन’ भनेको स्मरण गर्दै कांग्रेस सांसद थापाले भने, ‘न सडकमा कसैले भनेको थियो, न संसदमा । यो हिनताबोध किन ?’

 

ओलीअघिका दुई प्रधानमन्त्री पुष्पकमल दाहाल र शेरबहादुर देउवाले पनि मोदीलाई भेटेको र त्यसबेला कसैलाई सिंगडा बेच्न गएको त कसैलाई घुँडा टेक्न गएको भनेको भन्दै उनले प्रश्न गरे, आफूले गर्दा पूण्य, अरुले गर्दा पाप ?’