कांग्रेशको ओलीलाई काउन्टर प्रश्न : ‘उचित काम गर्दा राष्ट्रवाद खत्तम भयो भन्ने, अहिले भारतसामु लम्पसारवाद देखाउँदा के भन्ने ?’

पहाडमा केपी ओली र तराईमा फोरमबाट मुख्यमन्त्री बनेका लालबाबु राउतले नाटक गरे
मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, जेष्ठ १, २०७५

काठमाडौं, १ जेठ – नेपाली कांग्रेसका नेता महेन्द्र यादवले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण सफल भएको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता यादवले मोदीको जानकी मन्दिरको दर्शन गर्ने ईच्छा पूरा भएको बताए ।

 

जनकपुर क्षेत्रका जनताहरू पनि मोदीको भ्रमणले खुशी भएको उनको जिकिर छ । तर, प्रधानमन्त्री केपी ओलीका विषयमा भएका नकारात्मक टिप्पणीको यादवले समर्थन गरे ।

 

‘नेपाली जनतालाई भ्रममा पारेर चुनाव जितिसकेपछि लम्पसारवाद देखाएका छन् । हिजो हामीले उचित काम गर्दा राष्ट्रवाद खत्तम भयो भन्ने, अहिले भारतसामु लम्पसारवाद देखाउँदा के भन्ने रु’ उनले प्रश्न गरे ।

 

‘केपी ओलीले चुनाव जित्नका लागि नेपाली जनतामाझ अनर्गल प्रचार गरेर भ्रममा पारे । भारत र नरेन्द्र मोदीका बारेमा ओलीले राखेको भ्रम अहिले जनताले बुझे’, कांग्रेस नेता यादवले भने । ओलीले राष्ट्रवादको गलत व्याख्या गरेर चुनावका बेला जनतालाई भ्रम छरेको यादवको आरोप छ ।

 

प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले देशभित्रको समस्या मोदीसमक्ष राखेकोप्रति यादवले असन्तुष्टि व्यक्त गरे । भएका समस्या समाधानका लागि केन्द्र सरकारसँग कुरा राख्नुपर्नेमा भारतका मोदीसमक्ष रखेको भन्दै यादवले काम गर्न नसक्ने भए मुख्यमन्त्री राउतले राजीनामा दिनुपर्ने बताए । मुख्यमन्त्री रावतलाई पदमा बस्ने कुनै पनि नैतिक अधिकार नरहेको भन्दै यसबारेमा कांग्रेसले सार्वजनिक ठाउँमा कुरा उठाउने बताए ।

 

संविधान संशोधन गर्न नचाहने केपी ओलीलाई विश्वासको मत दिने तर समस्या राख्न भने नसक्नु संघीय समाजवादी फोरमकै कमजोरी भएको उनको तर्क छ । ‘विदेशी पाहुनाको सामुन्ने गुहार्ने होइन । नेपालका प्रधानमन्त्रीलाई भन्न सक्नुपर्छ’, उनले भने ।

 

पहाडमा केपी ओली र तराईमा फोरमबाट मुख्यमन्त्री बनेका लालबाबु राउतले नाटक गरेको यादवको आरोप छ ।