खोक्रो राष्ट्रवादको पर्दाफास गर्दै ओलीमाथि देउवाको यस्तो ठाडो हमला !

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, बैशाख ४, २०७५

हेटौंडा– नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली लम्पसारवादी भएको आरोप लगाएका छन्।

नेपाल तरुण दलद्वारा मकवानपुरको हेटौंडामा सोमबार ३ नम्बर प्रदेशस्तरीय २ दिने तरुण प्रशिक्षणको उद्घाटनपछि ओलीको खोक्रो राष्ट्रवाद भारतमा गएपछि लम्पसारवादमा परिणत भएको दाबी गरे। ‘लम्पसारवादीले नै राष्ट्रवादको चर्को कुरा गर्ने?’ ओलीमाथि हमला गर्दै उनले भने ‘अब स्पष्ट भइसक्यो, ओली भन्ने मान्छे कहिल्यै राष्ट्रवादी थिएन, लम्पसारवादी मात्र हुन्।’

काँग्रेस मात्र राष्ट्रवादी पार्टी भएको बताउँदै उनले आफुहरु हिमाल, पहाड, तराई मिलाएर राष्ट्रियताको खिलाफमा नजाने जिकिर गरे। राष्ट्रिय एकता नै अहिले राष्ट्रवाद भएको भन्दै उनले हिमाल, पहाड, तराईको एकता, समानता र विकासमा लागिपर्ने बताए।

संविधान कार्यान्वयन नगरेको भए जेपनि हुन सक्ने भएकाले एमाले–माओवादी पार्टी अचानक शंकास्पद रुपमा मिलेपनि तत्काल निर्बाचनमा गएको उनले बताए। निर्बाचनमा एमाले–माओवादी मिलेर भन्दा पनि काँग्रेसभित्रकै बागी उम्मेदवारका कारण धेरै ठाउँमा काँग्रेस पराजित भएको उनले बताए।

नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले बामगठबन्धनलाई शत्रुको संज्ञा दिदै काँग्रेस र लोकतान्त्रिक शक्ति एक ढिक्का हुनुपर्ने बेला आएको बताए। पार्टी भित्रको आन्तरिक मतभेद छाडेर साम्यवादको विरोध गर्नुको विकल्प नभएको भन्दै उनले बाम सरकारले एकदलीय शासन ल्याउन खोजेको जिकिर गरे।

काँग्रेसका केन्द्रीय सदस्य प्रकाशशरण महतले वर्तमान सरकारले एकतन्त्रीय शासनको शुरुवात गरेको आरोप लगाए। अन्य मन्त्रालय अन्तरगतको राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग, राजस्व अनुसन्धान विभागलाई प्रधानमन्त्री अन्तरगत ल्याएर कम्यूनिष्ट शासनको शुरुवात गर्न खोजेको तर्क गरे।