ओलीको राष्ट्रवाद भारत पुगेपछि लम्पसारवाद : देउवा

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, बैशाख ४, २०७५

हेटौँडा – नेपाली कांग्रेसका सभापति शेरबवहादुर देउवाले प्रतिनिधिसभाको निर्वाचनमा अन्तर्घात गर्ने नेता तथा कार्यकर्तालाई कडा कारवाही गरिने बताएका छन् ।

नेपाल तरुण दलको आयोजनामा हेटौँडामा सोमबारदेखि सुरु भएको दुईदिने प्रदेश नं ३ स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै देउवाले टिकट नपाएकाहरूले पार्टीका आधिकारिक उम्मेदवारमाथि अन्तर्घात गरेकाले उनीहरूलाई कारबाही गरिछाड्ने प्रतिबद्धता जनाए । तरुण दललाई अनुशासित र जिम्मेवार बनाउनुपर्ने देउवाको भनाइ थियो ।

उनले एमाले र माओवादी केन्द्र निर्वाचनमा एकीकृत भई चुनाव लडेकाले पार्टीले पराजय बेहोर्नुपरेको बताए । फरक प्रसंगमा सभापति देउवाले प्रधानमन्त्री ओलीको राष्ट्रवाद भारत पुगेपछि लम्पसारवादमा रुपान्तरण हुन पुगेको आरोप लगाए ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य डा.रामशरण महत, डा.प्रकाशशरण महत, बालकृष्ण खाँण, रामकृष्ण यादव र महेन्द्र यादवले मुलुकमा निजी क्षेत्रका लगानीकर्तालाई उद्योग स्थापना गर्न वर्तमान सरकारले विभेद गर्न नहुने बताए ।

प्रशिक्षणमा ३ नं प्रदेशका तरुण दलका अध्यक्ष, क्षेत्रीय अध्यक्ष र केन्द्रीय पार्षद गरी ३२५ प्रतिनिधिको सहभागिता भएको तरुण दल अध्यक्ष जीतजंग बस्नेतले बताए ।