देउवाको धम्कीले काठमाडौंमा तरंग, कांग्रेसले अधिनायकवादीहरूको जरै उखेल्ने

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, बैशाख ३, २०७५

चितवन । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट सरकारले अधिनायकवाद सुरु गरिसकेको आरोप लगाएका छन् ।

भरतपुर विमानस्थलमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै देउवाले मनोमानी ढंगले सरकारले काम गरिरहेको बताए । उनले भने, ‘सरकारले एकलौटी गर्न खोजेजस्तो देखिन्छ । अधिनायकवाद सुरु भइसक्यो । मनोमानी बढ्यो ।’ कम्युनिष्टहरूको अधिनायकवाद बढ्दै गयो भने त्यसलाई जरैदेखि उखेलेर फाल्ने उनले चेतावनी दिएका छन् ।

सभापति देउवाले भने, ‘अब विकास गर्छन्, अधिनायकवादको ।’ सरकारको एक सयदिन हनिमुन समय भएको भन्दै उनले काम हेर्ने बताए । ‘सुरुकै कामबाट धड्काधड्की विकास भएको छ’, उनले भने, ‘कुनै किसिमको सरसल्लाह छैन, आफ्नै तरिकाले गरेका छन्, काम गर्न सकेका छैनन् ।’

पार्टी कमजोर भएको छ नि भन्ने प्रश्नमा उनले दुईवटा पार्टी मिलेपछि निर्वाचनमा जित हार हुने कुरा स्वाभाविक भएको बताए ।
प्रजातन्त्रको रक्षाका लागि लड्ने र प्रजातन्त्रको मूल्य मान्यताअनुसार जनताको अधिकारका लागि काँग्रेस लडिरहने बताए ।