माओवादी सिध्याउने योजनामा ओली लागेको प्रचण्डले थाहा पाएपछि !

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, बैशाख ३, २०७५

काठमाडौं – नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको प्रक्रिया चलिरहँदा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीलाई आफ्नो पार्टीमा विलय गराउने योजना बनाएको खुलेको छ ।

माओवादी नेताहरुले सम्मानजनक हैसियतसहित एकताको अडान राखिरहेका बेला ओलीले माओवादीसँग पार्टी एकता नभई आफूमा विलय गराएर सिध्याउन खोजेको सूचना पाएपछि माओवादी अध्यक्ष प्रचण्ड आक्रोशित बनेका छन् । यसैकारण उनले आइतबार ओलीसँग तोकिएको भेटवार्ता क्यान्सिल गरे । ओली एकताभन्दा पनि सिध्याउने दिशामा अघि बढेको रिपोर्टिंग माओवादी नेताहरुबाट भएपछि आइतबार गर्ने भनिएको प्रधानमन्त्री ओलीसँगको छलफल स्थगन गरेर अध्यक्ष प्रचण्ड सिन्धुपाल्चोकको सुकुटेस्थित रिसोर्टमा ‘आराम गर्न’ गएका थिए ।

नेताहरुले प्रचण्डलाई पार्टी एकता नै गर्ने नै हो भने ओलीसँग बराबरीको आधारमा हुनुपर्ने अडान कायम राख्नुपर्ने सझाव दिएका थिए। प्रचण्ड सुकुटेतिर लाग्नुअघि आइतबार नै वाइसीएलका नेताहरु अनि एमाले नेता माधव नेपालसँग प्रचण्डको बेग्लाबेग्लै छलफल भएको थियो । प्रचण्ड भेट्न नेता नेपाल उनकै निवास खुमलटार पुगेका थिए । तर खुमलटारमा सौहार्दपूर्ण सम्वाद हुन नसकेको स्रोतको भनाई छ। जसकारण नेता नेपाल रित्तो हात फर्किए।

माओवादीले ओली पार्टी एकताको अर्थमा नभई पेलान गर्ने र माओवादीलाई सिध्याइदिने मनस्थितिमा देखिएको र सरकार सञ्चालनको कार्यशैली हेर्दा उनी खतरनाक अधिनायकवादतिर उन्मूख भइरहेको भन्दै बेलैमा सतर्क हुनुपर्ने निश्कर्ष निकालेको छ । केपी ओली दुईवटा वामपन्थी धारलाई आपसमा मिलाउने र सम्मानजनक एकता गर्ने पक्षमा नरहेको र माओवादीलाई फसाएर आत्मसमर्पण गराउने अनि सिध्याउने खेलमा लागेको माओवादी नेताहरुको आरोप छ।

केपी ओलीले प्रचण्डलाई पनि अध्यक्ष बनाउने आश्वासन दिएको र अर्काेतर्फ माधव नेपाललाई पनि महाधिवेशनपछि तपाईलाई पार्टी अध्यक्ष बनाउँछु भनेर आफ्नो नजिक ल्याएको भन्दै माओवादी नेताहरुले एमाले नेता माधव नेपालले दोहोरो चरित्र देखाएको समेत आरोप लगाए।

सचिवहरुको सरुवा गर्दा पनि ओलीले माओवादी निकट मन्त्रीहरुसँग कुनै सरसल्लाह नगरेको र अध्यक्ष प्रचण्डसँग पनि छलफल नगरी उनी एकलौटी ढंगबाट सरकार सञ्चालन गरिरहेकोमा आपत्ति जनाउँदै नेताहरुले एउटै पार्टीभित्र त नेताहरुसँग छलफल र सल्लाहका आधारमा सरकार चलाउनुपर्छ भने अहिले बेग्लै रहेको माओवादीलाई बाइपास गर्ने ओलीको चाहना देखिएको टिप्पणी गरेका छन् ।

माओवादीले सम्मानजनक पार्टी एकता गर्ने लाइनबाट केपी ओलीमा विचलनको सुरुवात उनको बैंकक भ्रमणपछि भएको निष्कर्ष निकाल्दै  त्यहाँ उनले भारतीय ‘रअ’का उच्च अधिकारीलाई भेट्दै आफूले लिँदै आएको राष्ट्रवादको अडानलाई बिर्सेर मोदी सरकारसँग लाइन मिलाएको तथा त्यसैको क्लाइमेक्स स्वरुप उनको भारत भ्रमण भएको तथा त्यही केपी ओलीको राष्ट्रवादको भाँडो पूर्णरुपमा घोप्टिएको आरोप लगाएको छ।

खुमलटारबाट त्यसै फर्किए माधव नेपाल

आइतबार पार्टी एकताका लागि प्रचण्डलाई फकाउन भन्दै माधव नेपाल खुमलटार पुगे । सम्भवतः माधव नेपालले यो कुराको चाल पाइसकेका छन् कि प्रचण्डको नजर केपी ओलीप्रतिमात्रै सशंकित बनेका छैनन, उनी माधव नेपालको भूमिकासँग पनि तर्सिएका छन् । त्यसैले विश्वासको वातावरण ओली र प्रचण्डका वीचमा मात्र होइन, माधव नेपाल र प्रचण्डका वीचमा पनि धुमिल भएको छ ।

स्रोतका अनुसार ओलीले माधव नेपाललाई भावी अध्यक्ष बनाउने आश्वास दिएका छन् र जसलाई प्रचण्डले आफूमाथि सिंगै एमाले नेतृत्वले गर्न लागेको विश्वासघातका रुपमा लिएका छन् । प्रचण्डले माधव नेपाललाई भित्रैदेखि विश्वास नगरेको र मध्यस्थकर्ता भन्दा पनि केपी ओलीको दूतका रुपमा लिएपछि नेता नेपाल रित्तो हात खुमलटारबाट फर्किएको स्रोतको भनाई छ।