रमेश खरेललाई सिधै काउन्टर दिदै आइजिपी बनेलगत्तै सर्वेन्द्रले लिए भ्रष्ट प्रहरीको सातो

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, बैशाख २, २०७५

काठमाडौं– नेपाल प्रहरीका प्रमुख (आइजिपी) सर्वेन्द्र खनाललले इमान्दारीतापूर्वक काम नगर्ने प्रहरीलाई कारवाही गर्ने चेतावनी दिएका छन्। उपत्यकाका तीन जिल्लाका प्रहरी अधिकारीलाई हेडक्वाटर बोलाएर खनालले निष्पक्ष र व्यावसायिक रुपमा सेवा प्रदान गर्न निर्देशन दिएका हुन्।

खनालले राज्यले दिएको जिम्मेवारी निर्वाह नगर्ने जोकोहीलाई पनि सेवामा बस्ने अधिकार नभएको भन्दै शान्तिसुरक्षाको जिम्मेवारी नै संगठनको पहिलो दायित्व भएको बताए। देशभरको प्रहरीको छाया नै काठमाडौं र उपत्यका प्रहरी भएको बताउँदै प्रहरीको इमान र साख गिर्ने कुनै पनि काम नगर्न उनले निर्देशन दिए। पछिल्लो समयमा समाजमा विविध खालका अपराध बढीरहेकोतर्फ सचेत गराउँदै हरेक काममा शून्य सहनशीलता अपाउनुपर्ने उनको भनाई थियो।

प्रहरीकै मिलोमतोमा विभिन्न अपराध, तस्करी र गुण्डागर्दीलाई प्रश्रय दिने काम भइरहेकोतर्फ संकेत गर्दै खनालले भने, ‘घुस खाने, गुण्डासँग मिल्ने र दायाँबाँया गर्ने प्रहरीलाई छाडिन्न, त्यसैले आफ्ना गलत प्रवृती त्यागौं।’ मुलुकको शान्तिसुरक्षा र राज्यको प्रभावकारी उपस्थितीका लागि नेपाल प्रहरीको भूमिका महत्त्वपूर्ण रहेको उनले बताए। राम्रो गर्नेलाई सम्मान र नराम्रो गर्नेलाई दण्ड गरिने खनालको भनाइ छ।

साथै खनालले प्रहरी जवान र हवल्दारहरूको बढुवामा ध्यान दिने बताए। उनले भने, ‘हो, जो फिल्डमा खटिन्छन् । नेतृत्व तहमा रहेर माथिमाथिको मात्र नहेरी तल काम गर्ने ती प्रहरीमा केन्द्रित छु । किनभने बुट बजारेर परिवार नभनी दिनरात खट्ने समूह ठूलो छ, त्यसलाई मुटुमा राखेर काम गर्छु ।’

खनालले आफू आईजीपीको जागिर खान मात्र नआएको दाबी गरेका छन् । उनले केही नयाँ काम गरेर देखाउनेसमेत प्रतिबद्धता व्यक्त गरेका छन् । साथै खनालले भर्खरै राजीनामा दिएका डीआईजी रमेश खरेलप्रति कडा टिप्पणी गरेका छन् । उनले भने, ‘मेरो नियुक्तिमा असन्तुष्टि जनाएर राजीनामा दिनुमा म कुनै तुक देख्दिनँ । अरूमा होलान् तर यसमा म कुनै आधार देख्दिनँ ।’