ओलीलाइ एमालेकै नेता घनश्याम भुसालको काउन्टर, रेल र पानीजहाजबाट मोदीवाद नल्याउन चेतावनी

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, बैशाख २, २०७५

काठमाडौं –  प्रधानमन्त्री केपी ओलीले भारत भ्रमण गरेर स्वदेश फर्किएपछि उनै दल नेकपा (एमाले)भित्रै विभिन्न आशंकाहरू भइरहेका छन् ।

उपाध्यक्ष भीम रावलले ओलीको भारत भ्रमणका बेला भएका सहमति र सम्झौताका बारेमा सावैजनिक रुपमै चासो देखाइ सकेका छन् । एमालेका उपमहासचिव घनश्याम भुसालले पनि ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बढ्दै गरेको घनिष्टताप्रति आशंका जनाएका छन् ।

भुसालले भनेका छन्, ‘अहिले विकासको, समृद्धिको ज्वरो आएको छ । अहिले मुलुकको एक सूत्रीय एजेण्डा समृद्धि भएको छ । हिजैदेखि हामीले यसमा धेरै छलफल गरेका छौं । अब विकास र समृद्धितिरै जाने हो ।’

उनले भने, ‘सैद्धान्तिकरुपमा अब क्रान्ति सकियो, अब समाजवादतिर प्रवेश गर्ने हो भन्दा त्यतिखेर हामी डराएका थियौं । अहिले त्यही प्रमुख नारा भएको छ, तर अर्कोरुपमा भएको छ । राम्रो कुरा हो, हामीले प्रशान्त महासागरमा जहाज चलाउनुपर्छ । तर, प्रशान्त महासागरको त्यो जहाजले हाम्रा सीमान्त श्रमजीवी वर्गका मानिसलाई के योगदान गर्छ भन्ने कुरा सोचिएन भने त्यहाँनेर मार्क्सवाद डेभिएट(विचलित) हुन्छ । यहाँनेर मार्क्सवाद रहँदैन । मोदीवाद हुन सक्छ, ट्रम्पवाद हुन सक्छ, अर्कोवाद हुन सक्छ, तर मार्क्सवाद हुँदैन ।’

‘जुन विकासले, जुन समृद्धिले सीमान्त वर्गको समृद्धिलाई समेट्दैन, आधारभूत वर्गका मान्छेसँग त्यो गाँसिँदैन, यस्तो विकासले समस्या ल्याउँछ है भन्नेचाहिँ आठौं, नवौं महाधिवेशनसम्म हामीले निकालेको निश्कर्ष हो’, भुसालले भनेका छन् ।

‘अहिले धेरै राम्रा कुराहरु पनि भएका छन् । हामीले संविधान बनायौं, नाकाबन्दीको सामना गर्‍यौं, चीनसँग सम्बन्ध बढायौं । अहिले वाम पार्टीहरुको एकताको कुरा गर्दैछौं । यी असाध्यै राम्रा कुरा भएका छन् । अब मुलुकको एकसूत्रीय एजेण्डा समृद्धि हुनेछ । आफैंमा यो गलत छैन’, उनले भनेका छन्, ‘तर, म तपाईहरुलाई एउटा सानो नक्सली कथा सुनाउँछु । कैयौं दिनदेखि खान नपाएर आलस(तालस भएका आमाछोरी थिए । ती आमाछोरी एउटा ठूलो सपिङ मलको तलपट्टि बसे । खान नपाएकी छोरीलाई आमाले मुसार्दै भनिन्, छोरी तँ यति राम्री छस्, जब तँ जवान हुन्छेस्, तँलाई ठूलो घरानामा म बिहे गर्दिन्छु । आ… त्यहाँ त गाडी हुन्छन्, घोडाहरू हुन्छन्, सुनका थाल हुन्छन् छोरी सुनका थाल !’

‘आमाको कुरा सकियो । छोरी केहीछिन बोलिन र एकछिनमा भनी, आमा, राम्रो हुनेरहेछ, तर त्यहाँ रोटीचाहिँ हुन्छ कि हुँदैन ?’, उनले भने, ‘यो कुरा अहिले हामीले प्रेसलाई पनि भन्नुपर्नेछ । अहिले समृद्धिको ज्वरोमा हामीले कस्तो मान्छेका लागि कस्तो विकास भन्नेबारेमा कुनै छलफल गरेका छैनौं । वुद्धिजीवीहरू पनि डराएका छन्, कसैले त्यो विकासको लाठोले हिर्काएर मूर्छा पार्दिन्छन् कि भनेर डराएका छन् ।’

‘यहाँ पानीजहाज, रेलका बारेमा बहस भइरहेको छ, मान्छेका बारेमा बहस भएको छैन । रेलको कुरा छ, तर खोई मान्छेको कुरा ? न्यूनतम स्वतन्त्रताविना मान्छेको कुरा हुँदैन । मैले यो कुरा डराउँदै दोहोर्‍याएको हुँ’, उनले भनेका छन्, ‘पहिले पहिले हामीले विकास र समृद्धिको कुरा गर्दा मान्छेले त्यति ध्यान दिँदैनथे । अहिले विकासको कुरा गर्दाखेरि बूढाबूढी आमाबुबाहरूको पनि अनुहारमा तेज आउँछ । यो धेरै राम्रो कुरा हो । तर, विकासको कुरा गर्दा चाइनाले गरेको विकासमा पनि त्यसको सुन्दर अनुहारमात्रै छैन ।’

्रएमालेका उपमहासचिव भुसालले ओलीप्रति आशंका जनाउँदै भन्छन्, ‘त्यसैले यो बहसमा हाम्रो वौद्धिक समाज, नागरिक समाज र मिडिया जोडिन सकेन भने हामीले विकास देखाउनुपर्ने हुन्छ । अनि विकास देखाउनका लागि साधन त आकाशबाट आउँदैन, पातालबाट पनि आउँदैन । हामीले अरुलाई दिनुपर्ने हुन्छ । रेल ? ल्याऊ । उसले भन्छ, म रेल किन ल्याउँछु भाइ, त्यताबाट बोराका बोरा धान लैजान पाउन्न भने, ट्रेनभरि मैले तिम्रो कोइला लैजान पाउन्न भने, खानी लैजान पाउन्न भने रेल किन ल्याउने ? अनि हामीले भन्नुपर्ने हुन्छ, ठीक छ रेल लिएर आऊ, ती चिजहरु लैजाऊ ।’

‘अनि उसले भन्न सक्छ, तिम्रो त्यो भूमि ऐन सुधार । ११ विघाले कसरी हुन्छ ? ११ हजार विघा जमिन राख्न पाउने ऐन बनाऊ । अनि हामी रेल पनि ल्याउँछौं, कृषिमा लगानी पनि गर्छौं । शर्तहरु यस्तै हुनेछन्’, उनले भनेका छन्, ‘हामीले सारा खानी, खोला, प्राकृतिक स्रोत नदीहरु बेचेर रेल ल्याउन लाग्यौं भने अनि त्यो सीमान्त श्रमजीवीको स्थिति के होला ? अनि यो चापाचापमा हाम्रो नेपाली जात कहाँ पुग्छ ?’

यी विषयहरुमा किन छलफल चलाउन जरुरी छ भने सिद्धान्त र इतिहास सकिएपछि राजनीतिले पपुलिज्मको बाटो लिन्छ । पपुलिज्ममा केही झुण्ड अगाडि आउँछ । गुटहरु अगाडि आउँछन् । गुटका नायकहरु अगाडि आउँछन् । र, जुन दिन ती गुटहरुले काम गर्न छाड्छन्, सारा मुलुक र राजनीति ध्वस्त हुन्छ । सपना ध्वस्त हुन्छन् । त्यसबेला लेखकहरु, आलोचकहरुलाई सके कानूनले नसके दक्षिण अमेरिकामाजस्तो गुण्डा लगाएर मार्नेसम्म राज्य जान्छ । राज्य त्यहाँसम्म जान्छ । फासिस्ट बन्छ ।

अहिले वाम आन्दोलनमा यत्रो सम्भावनाको ढोका खुलेको छ । हामी समाजवादतर्फ जान सक्ने प्रशस्त सम्भावनाहरु छन् । तर, फेरि यो विकास, यो समृद्धि सिद्धान्त र विचारभन्दा अलग हुन्छ भनेर सोचियो भने नेपाली जातले चाँडै ठक्कर खान्छ, यसबाट हामी सतर्क रहनुपर्छ ।

सिद्धान्तको प्रश्न, नेपाली समाजको सैद्धान्तिक व्याख्या गर्ने अनि त्यसलाई मार्क्सवादी अर्थराजनीतिक हिसाबले अध्ययन गर्ने र निश्कर्ष निकाल्नेको कोल्टे फेराइको नेता हो कामरेड झलनाथ खनाल ।

आठौं महाधिवेशनभन्दा अगाडि उहाँ एमालेको महासचिव हुनुहुन्थ्यो । मैले उहाँलाई सोधेको थिएँ, कामरेड तपाईसँग असहमति राख्न पाइन्छ कि पाइँदैन ? म तपाईलाई सहयोग गर्छु, तर असहमति राख्न पाइन्छ कि पाइँदैन ?

उहाँले वैचारिक हिसाबले आउनोस्, जुनसुकै असहमतिसँग म छलफल गर्न तयार छु, मैले खोजेकै यस्तै साथीहरु हो भन्नुभयो । र, त्यसपछाडि म जेएनवादी भएँजस्तो लाग्छ । त्योबेला असहमति राख्न पाइन्छ भनेर पार्टीका महासचिवले भन्ने कुरा ठूलो हो ।

आठौं महाधिवेशनमा हामीले नेपाली समाज बदलियो भनेर पार्टीमा प्रस्ताव राख्दाखेरि धेरै वास्ता हुँदैनथ्यो । हामीले नयाँ जनवादी क्रान्ति अथवा जनताको बहुदलीय जनवादी क्रान्ति सम्पन्न भइसक्यो भन्यौं । सरकार प्राप्त भो, तर सत्ता प्राप्त भएको छैन भन्ने जुन थेगो थियो, त्यो गलत हो, अब हाम्रो अगाडिको बाटो राष्ट्रिय पुँजीको विकास गर्ने र समाजवादमा जाने हो भन्यौं ।

हामी केन्द्रीय कमिटीमा पनि नभएका मानिसहरुले यो कुरा राख्दाखेरि कालोमोसो पो दलिने हो कि भनेर धेरैपटक सोच्यौं । तर, छलफलको वातावरण भएकै कारणले गर्दाखेरि केन्द्रीय कमिटीमा पनि नभएका केटाहरुले पार्टीमा प्रस्ताव राखेर पाँच वर्षमा पार्टीमा पारित भएर जाने कुरा सामान्य होइन । कुनै पार्टीमा पनि हुँदैन यस्तो । त्यसैले वैचारिक सैद्धान्तिक हिसाबले त्योकाल सम्झन लायक थियो भन्ने मेरो अनुभव छ ।