ओलीको भ्रमणलाई लिएर देउवा–रावल एक ठाउँमा, एमाले मुख्यालयमा कसैले नसोचेको खैलाबैला

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, बैशाख २, २०७५

काठमाडौँ- पधानमन्त्री केपी ओलीले भारतसँग गरेको सम्झौताका बारेमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका उपाध्यक्ष भीमबहादुर रावलले जानकारी माग गरेका छन् ।

काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा सभापति देउवाले प्रधानमन्त्री ओलीको भारत भ्रमणको समीक्षा स्वयं सरकारले गर्नुपर्ने बताए ।  देउवाले सरकारले सधै देशको शिर उच्च राख्ने काम गर्नुपर्ने भन्दै भारत भ्रमणको समीक्षा सरकारले नै गर्नुपर्ने उल्लेख गरेका हुन् । ‘नेपालको स्वाभीमान कसैले झुकाएर झुक्न सक्दैन’, उनले भने, ‘हिमाल, पहाड र तराईका जनता देशभक्त छन् ।’

उनले मुलुकको स्वाभिमानका विषयमा कसैले प्रश्न खडा गर्न नसक्ने जिकिर गरे । सभापति देउवाले लामो समयको लडाइँपछि संविधान प्राप्त गरेको भन्दै एकताबद्ध भएर मुलुकको बिकासमा लाग्नुपर्ने पनि जोड दिए ।

एमालेका उपाध्यक्ष रावलले मुलुकको स्वाधिनता र स्वाभिमानलाई झुकाउने काम कसैले गर्न नहुने बताए । प्रधानमन्त्री ओलीले भारतसँग गरेका सहमति र सम्झौताहरूका बारेमा आफूले खोजविन गरिरहेको बताए । ओलीप्रति आशंका गर्दै रावलले भने, ‘प्रधानमन्त्रीले भारत भ्रमणका बारेमा जनतालाई स्पष्ट भन्नुपर्छ ।’ देउवा र रावलले ओलीविरुद्ध अभिव्यक्ति दिएपछि एमालेभित्र एकखालको तरंग उत्पन्न भएको छ ।