माओवादीका कारण यसरी भयो विद्या भण्डारीको सपना चकनाचुर, एमालेमा खैलाबैला

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, चैत्र २८, २०७४

काठमाडौं– नेकपा एमालेसँग एकता प्रक्रियामा रहेको नेकपा माओवादी केन्द्रको अडानले राष्ट्रपति विद्यादेवी भण्डारीको प्रयास असफल भएको छ ।

प्रसंग हो नेपाल प्रहरीको आइजिपी नियुक्ती । राष्ट्रपति भण्डारीले आइजिपीमा आफ्ना भाई (फूपूका छोरा) पुष्कर कार्कीलाई सिफारिस गरेकी थिइन्। उनले जसरी भएपनि कार्की आइजिपी हुनुपर्ने भन्दै भारत भ्रमणबाट फर्किएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिएकी थिइन्।

राष्ट्रपतिको दबाबपछि ओली कार्कीकै पक्षमा देखिए। मंगलबार विहान बसेको मन्त्रिपरिषद बैठकमा उनले कार्कीको नाम सिफारिस गरे। जसमा माओवादी केन्द्रले असन्तुष्टि जनायो। सुरुमै सर्वेन्द्र खनाललाई आइजी बनाउने सहमति गरिसकेका बेला राष्ट्रपतिको दबाबमा कार्कीको नाम ओलीले अघि सारेपछि माओवादी मन्त्रीले विरोध जनाएका थिए।

पछि दिउँसो ओली र माओवादीबाट गृहमन्त्रालयको कमाण्ड सम्हालिरहेका रामबहादुर थापा बादलबीच र ओली,प्रचण्ड र बादलबीच छुट्टाछुट्टै वार्ता भयो। वार्तामा माओवादी केन्द्रले सर्वेन्द्र खनाल नै हुनुपर्ने अडान राखेपछि प्रधानमन्त्री ओली पछि हटे। राष्ट्रपतिको प्रस्ताव छाडेर उनी पनि सर्वेन्द्रकै नाममा सहमत भए।

साँझ मन्त्रिपरिषद बैठक बोलाएर आइजीमा सर्वेन्द्र खनाल नियुक्त गर्ने निर्णय भयो। यसरी कार्यकारी प्रधानमन्त्री र सरकारमाथि राष्ट्रपतिले परिवार र नातागोतावादलाई प्रश्रय दिनेगरी दिएको दबाब माओवादी केन्द्रको अडानका कारण असफल भयो। शीतल निवासबाट जे भन्यो त्यही हुन्छ भन्ने मान्यतालाई पनि यो घटनाले सबक सिकाएको छ।