यस्तो छ बाम एकताबारे ‘गोप्य’ राखिएको एउटा प्रस्ताव

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, चैत्र २४, २०७४

काठमाडौं, २४ चैत- एमाले–माओवादी एकता ९ वैशाखमा घोषणा गर्ने मिति तय भए पनि कतिपय विषयमा सहमति जुट्न अझै बाँकी छ । पार्टी एकता संयोजन समितिले एकीकरण मिति तय गरिसकेको छ तर कतिपय प्रस्तावमा सहमति जुटाउन बाँकी छ ।

प्रस्तावका लागि एमाले र माओवादी नेता सम्मिलित कार्यदलले विभिन्न प्रस्ताव तयार पारेका छन् । जसका विषयमा सार्वजनिक रूपमा बहस भए पनि एउटा प्रस्ताव भने गोप्य राखिएको थियो ।

दुई अध्यक्षात्मक प्रणाली स्वीकार गर्न दुवै दल तयार भए पनि त्यसको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने प्राविधिक प्रस्ताव माओवादीले अगाडी सारेको छ । समान हैसियतको एकीकरणसहित जिल्ला तहसम्म दुई अध्यक्षात्मक प्रणालीको प्रस्ताव गरेको माओवादीले हरेक माइन्युट र निर्णयमा दुई अध्यक्षको हस्ताक्षर हुनुपर्ने प्रस्ताव पनि अघि सारेको स्रोतले जनाएको छ ।

कार्यदलले अध्यक्षका आठ अधिकारको खेस्रा तयार पारे पनि निर्णयमा कसको हस्ताक्षर रहने भन्ने विषयमा कुनै विषय उल्लेख नगरेपछि माओवादीका तर्फबाट यस्तो प्रस्ताव आएको हो । कार्यदलमा यो प्रस्तावका विषयमा चर्को बहस चलिरहेको छ ।

दुई अध्यक्षको हस्ताक्षरलाई मात्र आधिकारीक मान्न सकिने प्रस्ताव माओवादी केन्द्राध्यक्ष प्रचण्डले पार्टीभित्र छलफल चलाएर कार्यदलमा पठाएका हुने । दुई अध्यक्ष भएपछि दुवै कार्यकारी हुनुपर्ने अडानका आधारमा यो प्रस्ताव आएको हो । माओवादीले साना ठूला जुनसुकै निर्णयमा दुवै अध्यक्षको हस्तारक्षर अनिवार्य गर्नुपर्ने प्रस्तावमा बहस थालेको छ ।