लालबाबु पण्डितलाई संसदमै झपार्ने को हुन एमाले सांसद ?

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, चैत्र २२, २०७४

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य मोहन बाँनियाले दुर्गम क्षेत्र विकास समिति खारेज नगर्न माग गरेका छन् ।

आफ्नै पार्टीका नेता लालबाबु पण्डितले सम्हालेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुर्गम क्षेत्र विकास समितिसहित १३ वटा समिति खारेज गर्न लागेको भन्दै नेता बाँनियाले यसलाई प्रधानमन्त्रीको मातहतमा ल्याई सशक्त र शक्तिशाली बनाउन माग गरे।

मंगलबार बसेको संसद बैठकमा मुगुबाट निर्वाचित सांसद बाँनियाले भने– ‘लामो इतिहास बोकेको दुर्गम क्षेत्र विकास समिति खारेजीको निर्णय लिनु गम्भीर भुल हुनेछ। किनभने संविधानको धारा ५१ ले सामाजिक न्याय र समावेशीकरणसम्बन्धी नीतिले यसको संरक्षण गरेको छ। यसको आवश्यकता संघीयता प्रणालीमा झनै बढेर गएकाले यसको खारेजी होइन यसलाई प्रधानमन्त्री कार्यालयको मातहतमा ल्याई सशक्त र शक्तिशाली बनाउनुपर्छ।’

उनले अगाडि थपे– ‘दुर्गम क्षेत्र विकास समितिमार्फत दुर्गममा राष्ट्रिय गौरवका आयोजना निर्माण गर्नुपर्छ। जबसम्म दुर्गग जिल्ला विकासको मुलधारमा आई सुगम सरह आउँदैनन् तबसम्म क्षेत्र विकास समितिको औचित्य रहिरहनेछ। त्यसैले दुर्गम र पछाडी पारिएका जिल्लाहरुको क्षतिपूर्तिको व्यवस्था हुनुपर्छ भन्ने माग राख्न चाहन्छु।’

संघीयता आउँदैमा दुर्गमलाई छुमन्तर गरेर सुमगमा नल्याउने टिप्पणी गर्दै उनले संघीय मन्त्रालयले लिन लागेको निर्णयमा विरोध जनाए।
बाँनिया बोल्दा लालबाबु पण्डित रातोपिरो भएका थिए। पछिल्लो समय पण्डित कर्मचारीलाई अनिवार्य अवकाश नदिने भनेर पनि विवादमा तानिएका छन्।