प्रहरी प्रधान कार्यालयले भन्योः विप्लवलाई जहाँ भेट्यो त्यँही समात्नु

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, चैत्र २०, २०७४

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई तत्काल पक्राउ गर्न निर्देशन दिएको छ ।

भोजपुर जिल्ला अदालतले ज्यान मार्ने उद्योग र विष्फोटक पदार्थको कसुरमा विप्लवलाई पक्राउ गरी कारवाही गर्न आदेश दिएको थियो । त्यसपछि प्रहरी प्रधान कार्यालयले मातहतका निकायलाई विप्लवलाई जहाँ भेट्यो त्यहीँ समात्न निर्देशन दिएको हो ।

विप्लव अहिले भूमिगत अवस्थामा छन् । उनी नेतृत्वको पार्टीमा रहेका धेरै नेता तथा कार्यकर्ता अहिले भूमिगत अवस्थामा छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाका पछिल्ला अभिव्यक्तिहरु विप्लवप्रति आक्रामक रुपमा प्रस्तुत हुनेगरी सार्वजनिक भएका छन् ।

विप्लवको नेकपाले प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको घरमा जनअदालतको निर्देशन भन्दै पक्राउ पूर्जी टाँसेपछि प्रधानमन्त्री आक्रोशित भएका हुन् । उनले विप्लवलाई राजनीतिमा मजाक नगर्न चेतावनी दिएका थिए ।