गृहमन्त्रीले भनेः नेपालमा मठ मन्दिर भत्काएर चर्च निर्माण गरिँदैछ रे !

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, चैत्र १९, २०७४

काठमाण्डौ– गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले गुण्डागर्दी र यातायातको सिन्डिकेट पनि ट्राफिक जामसँग जोडिएको दाबी गरेका छन् ।

सोमबार मन्त्रालयमा आयोजित ‘गृह प्रशासन सुधार कार्ययोजना–२०७४’ सार्वजनिक गर्दै मन्त्री थापाले काठमाण्डुको ट्राफिक जाम अन्त्यका लागी ठूलै धक्का जरुरी भएको उल्लेख गर्दै मन्त्री थापाले भने, ‘गुण्डागर्दी र यातायातको सिन्डिकेट पनि ट्राफिक जामसँग जोडिएको छ ।’

‘सिन्डिकेटको अन्त्य जनताको चाहना हो,’ मन्त्री थापाले भने, ‘भ्रष्ट ठेकेदारहरुमाथीको कारवाही जनताको जनादेश हो, यो कसैको ब्यक्तिगत चाहनाको कुरा मात्रै हैन ।’

८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गर्दै मन्त्री थापाले जनवैरीहरुले राष्ट्रिय एकतालाई भंग गर्न चाहेको बताएका छन् ।

‘मैले सूचना पाएको छु, सन् २०२५ सम्ममा नेपालमा मठ मन्दिर भत्काएर चर्च निर्माण गरिँदैछ रे, स्वतन्त्र मधेशको कुरा पनि सुनेको छु’ उनले भने, ‘यस्तो अवस्थामा राष्ट्रिय एकतालाई अझ सुदृढ गर्नका लागी नयाँ कार्ययोजना आवश्यक छ ।’

‘नेपालमा अहिले पनि अर्बौंको तस्करी हुन्छ, सीमा नाका र विमानस्थलबाट अहिले पनि तस्करी भईरहेको छ,’ गृहमन्त्री थापाले भने, ‘नेपालको अध्यागमनबाट तस्करहरुले मानव तस्करी पनि गरिरहेका छन्, त्यस्ता तस्करमाथि आक्रमण गरेर मात्र सु–शासन र आर्थिक सम्बृद्धि हासिल गर्न सकिन्छ ।’

नेपालमा लागुऔषध सेवनकर्ताको संख्या पनि दैनिक बढिरहेको बताए ।

‘राजधानीको काँठ क्षेत्रमा खुलेका रिसोर्टहरुमा स्कूल ड्रेसमै युवा–युवतीहरु लठ्ठिन जान्छन् भन्ने सूचना पाएको छु,’ उनले भने, ‘लागुऔषध ग्राममा हैन, टनमा कारोबार भइरहेको छ यसलाई रोक्न जरुरी छ ।’

नेपालमा तस्करी र दुई नम्बरी धन्दा बढेको उल्लेख गर्दै मन्त्री थापाले हुण्डीबाजहरुसँग पैसाको गोदाम नै भएको दाबी गरेका छन् ।