रेशम चौधरीको समर्थनमा नवलपरासी उर्लियो

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, फाल्गुन २८, २०७४

कैलाली – कैलालीको टीकापुर घटनाका मुख्य योजनाकारको आरोपमा पक्राउ परेका रेशम चौधरीको रिहाइको माग गर्दै थारु कल्याणकारिणी सभा नवलपरासीले सोमबारदेखि आन्दोलन गर्ने भएको छ ।

कैलाली क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य चौधरीलाई रिहा गर्नुपर्ने र सांसद्को प्रमाणपत्र दिनुपर्ने माग राखी कल्याणकारिणीले चरणबद्ध आन्दोलन थाल्ने बताएको हो । विरोधसभा, प्रदर्शन, मसाल जुलुस, जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने लगायतका कार्यक्रम सार्वजनिक गरिएको छ ।

चैत १० गते सम्म पहिलो चरणको आन्दोलन गर्दा सुनुवाइ नभए थप आन्दोलन गर्ने थारु काल्यणकारिणीसभाले जनाएको छ । कैलाली जिल्ला कारागारमा आमरण अनशनमा थालेका चौधरीको स्वास्थ्य अवस्था बिग्रिँएपछि धनगढीस्थित सेती अञ्चल अस्पतालबाट ‘रेफर’ गरी काठमाण्डुस्थित वीर अस्पतालको क्याबिनमा राखेर उपचार भइरहेको छ । चौधरीलाई कर्तव्य ज्यान, डाँका–चोरी, ज्यान मार्ने उद्योग गरी ३ वटा मुद्दा लागेको छ ।