ईश्वर पोखरेल अध्यक्ष बन्न चाहेपछि प्रचण्ड झस्किए, अन्ततः पार्टी एकता धरापमा

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, माघ १८, २०७४

काठमाडौँ

नेकपा एमाले र माओवादीबीचको पार्टी एकता प्रक्रिया पछिल्लो समय ओझेलमा परेको छ । दुई दलका नेताहरुबीचको छलफल सत्तामा प्राप्त हुने विभिन्न पदीय भागबण्डामा केन्द्रित भइरहेको छ ।

एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीचको भेटवार्ता पार्टी एकता प्रक्रिया टुङगोमा पुर्याउने भ्रम पनि लामो समय छरियो । तर पछिल्लो समय दुई अध्यक्षबीच भएको ८ घण्टा लामो छलफलले प्रदेश सरकारको भागबण्डा मात्रै गरेको थियो ।

पार्टी एकता प्रक्रिया अबरुद्ध हुनुमा एकीकृत पार्टीको अध्यक्ष पद नै मूख्य कारण मानिएको छ । माओवादीले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको रुपमा स्विकार गरेर प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष बनाउनुपर्नेमा दबाब दिइरहेको छ । तर एमालेले प्रचण्डलाई अध्यक्ष दिने कुनै छाँटकाँट छैन ।

प्रचण्डलाई अध्यक्ष नदिए पार्टी एकता नहुने माओवादीको बटमलाईन र प्रचण्डलाई अध्यक्ष दिन नसकिने एमालेको बटमलाइनले पार्टी एकता टर्ला कि जस्तो पनि देखिएको छ ।

यसैबीच एमाले अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलले तत्काल पार्टी एकता नहुने निश्कर्ष नै निकालेको बताइएको छ ।

स्रोतका अनुसार प्रचण्डलाई पार्टी अध्यक्ष दिँदा भविष्यमा पार्टी अध्यक्ष बन्ने बाटो बन्द हुने भएकाले पोखरेलको दबाबमा पार्टी एकतालाई टुङ्गोमा पुर्याउन नसकिने निश्कर्ष निकालिएको हो ।

एमालेका महासचिव पोखरेल भावी अध्यक्षको रुपमा लिइएको छ । तर प्रचण्डलाई अहिले अध्यक्ष बनाउँदा आफू कहिल्यै पनि अध्यक्ष बन्न नपाउने पोखरेलको अनुमानले एकता अबरुद्ध भएको छ ।

त्यति मात्रै नभई प्रचण्डलाई अध्यक्ष बनाउँदा एमालेभित्र माधवकुमार नेपालसहितका नेताहरूको समूह बलियो हुने पोखरेल र ओलीको ठम्याई छ । ओलीले माओवादीसँग पार्टी एकता नगर्ने र ईश्वर पोखरेललाई एमालेको भावी अध्यक्ष बनाउने रणनीतिमा रहेका स्रोतको भनाइ छ ।

ओलीले आफू स्वस्थ नरहेको र एमालेको नेतृत्वका लागि पोखरेल उचित व्यक्ति रहेको बताएका छन् । ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद आफूले एकसाथ सम्हाल्न नसक्ने भन्दै अध्यक्षको तयारी गर्न निर्देशन दिएको बताइएको छ ।

– रिपोर्टस नेपाल