योगेश भट्टराईले प्रम देउवालाई किताब लेख्न सल्लाह दिएपछि

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, माघ १७, २०७४

काठमाडौँ

नेकपा एमालेका युवा नेता तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रधानमन्त्री देउवालाई राजनीति छाडेर पुस्तक लेख्न सुझाव दिएको बताएका छन् ।

नेपाल टेलिभिजनद्वारा आयोजित एक औपचारिक कार्यक्रमको अनौपचारिक कुराकानीको क्रममा देउवालाई यस्तो सुझाव दिएको भट्टराईले दावी गरेका हुन् । ‘प्रमलाई मैले के भने ?’ शिर्षकमा फेसबुकमा तस्बिरसहितको स्टाटस अपडेट गर्दै उनले भनेका छन्, ‘देउवाले प्रमबाट हटेपछि घरमा आएर खानासाना खाएर थप कुरा गरौंला भन्नुभएको छ ।’ भट्टराईको प्रस्तावलाई देउवालाई ‘खुब मन परेको’ उल्लेख गर्दै नयाँ प्रधानमन्त्री आएपछि देउवालाई भेट्न जाने बताएका छन् ।

भट्टराईले यसअघि एमालेका शीर्ष नेताहरुलाई अब आराम गरेर युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न माग गरेको प्रसंग चर्चित बनेको थियो ।

यस्तो छ भट्टराईको स्टाटस्ः
प्रमलाई मैले के भनें ?
नेपाल टेलिभिजनको ३३औं स्थापना दिवसका अवसरमा प्रम शेरबहादुर देउवासँग सँगै मञ्चमा भेट्ने अवसर मिल्यो । भाषाणमा अलि अलि छेडछाड पनि भयो । मन्तब्यपछिको छोटो संवादमा मैले वहाँलाई सोधेँ- ‘अर्को महिनापछि त तपाईंलाई धेरै नै फुर्सद हुने भयो, हजुर के गरेर समय बिताउनुहुन्छ ?’

‘पार्टी काम अनि आराम,’ वहाँले तु जवफ दिनुभयो । अनि मैले भने- ‘त्यतिले मात्र हुँदैन, कठोर पञ्चायतीकालमा राजनीतिमा लाग्नु भयो, धेरै दु:ख पाउनु भयो, बहुदल आएपछि प्राय: सरकारमै रहनुभयो । गिरिजाबाबुसँग मिल्नुभयो अनि लड्नु पनि भयो । एमालेसँग लड्नु भयो अनि मिल्नु पनि भयो । माओवादीसँग पनि त्यस्तै । राजाको हुनुभयो, राजासँगै लड्नुभयो । भारत, चीन, अमेरिका लगायत धेरै अन्तरराष्ट्रिय शक्तिहरुसँग कुरा गर्नुभयो । पार्टीमा गुटका विरुद्ध लड्नुभयो अनि आफै गुट पनि बनाउनुभयो आदि आदि … । अब त राजनीतिबाट रिटायर्ड् पनि हुने होला । अब यी सबै बिषयलाई समेटेर किताब लेख्नुपर्‍यो । हजुरको अनुभव हामी र आउने पुस्तालाई खुब काम लाग्छ । नढाँटी लेख्ने हो भने बजारमा पनि खुब बिक्छ । पैसा पनि आउँछ । मैले यति भने पछि उहाँले ‘खुब मन पर्‍यो । प्रमबाट हटेपछि घरमा आएर खाना साना खाएर थप कुरा गरौ है’ भन्नुभयो ।’

प्रधानमन्त्री हुन्जेल भेटिएन, प्रधानमन्त्रीबाट हटेपछि चै बुडासँग भेटघाट हुने पक्का भयो ।