निर्वाचन आयोग र प्रधानमन्त्रीको नियतमाथि शंका छः योगेश भट्टराई

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, माघ १७, २०७४

काठमाडौँ – नेकपा एमाले केन्द्रीय सचिव एवं पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले एमाले–माओवादी केन्द्रबीचको एकता एकापसमा आत्मसमर्पण नभएको प्रस्ट्याएका छन् । उनले एक अर्काको अस्तित्व स्वीकार गर्दै दुई पार्टीको विलयसँगै पार्टी एकता हुने बताए ।

 

प्रेस चौतारी सुनसरीले मंगलबार धरानस्थित पार्टी कार्यालयमा गरेको पत्रकार भेटघाटमा सचिव भट्टराईले सरकार निर्माणसँगै पार्टी एकता हुने उल्लेख गर्दै पार्टीको नीति, सिद्धान्त र संगठनको रुपरेखालाई एकरुपता दिएपछि निर्णायक एकता हुने बताए । ‘नेतृत्वको विषय उछालेर वाम गठबन्धनलाई अलग बनाउने दुष्प्रयास कसैले नगरे हुन्छ’ उनले भने, ‘पार्टी एकता हुनासाथ नेतृत्वको सवालको पनि हल निस्कने छ ।’ उनले वाम गठबन्धनको सरकारमा मधेस केन्द्रित दलहरुलाई पनि साथै लिएर जाने बताए ।

संसदको चुनाव भएको भोलिपल्ट नयाँ सरकार गठन हुने विश्वव्यापी राजनीतिक प्रचलन र सिद्धान्त हुँदाहुँदै पनि कांग्रेस नेतृत्वको सरकारले सत्ता हस्तान्तरण नगरी अनेक वहानामा छेकेर राखेको आरोप लगाए । कामचलाउ सरकारले संसदको लोकतान्त्रिक विधि र मान्यताको खिल्ली उडाउँदै गलत अभ्यासको नजिर बसाए भन्दै उनले भने, ‘खासगरी निर्वाचन आयोग र प्रधानमन्त्रीको नियत माथि शंका र प्रश्न एकसाथ उब्जिएका छन् ।’

उनले कामचलाउ सरकारले गरेका राजनीतिक नियुक्ति र गलत निर्णयहरु वाम गठबन्धनको सरकारले बदर गर्ने बताए ।