चार दिने भारतको औपचारिक भ्रमण सकेर
स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, अशोज २, २०७३

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारतको औपचारिक भ्रमण सकेर आइतबार स्वदेश फर्किएका छन् । यसैक्रममा उनले भारतसँगको सहकार्यले चीनलाई कुनै असर नगर्ने बताएका छन्।

त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले  भारत भ्रमणका बेला भएका सम्झौता र सहकार्यले अर्को छिमेकी मुलुक चीनलाई असर नगर्ने बताएका हुन्।

भारतमा दुई देशका प्रधानमन्त्रीले उपक्षेत्रीय सहकार्यका लागि सहमति जनाउँदै दुवै सरकारले यसको अनुसन्धान गर्ने र विशेषगरी व्यापार, पारवहन, कनेक्टिभिटी र ऊर्जाका विषयलाई प्राथमिकता दिएका थिए।

उनीहरुले सार्क र बिमेस्टेक परिधिमा रहेका र क्षेत्रीय सहकार्यलाई महत्वकासाथ अगाडि बढाउने विषयमा सहमत भएका थिए।

यस्तै संयुक्त राष्ट्र सङ्घका विषयमा अन्तर्राष्ट्रिय समान धारणा राख्न तथा विकासोन्मुख देशका लागि एकहुने उल्लेख गरिएको छ । त्यसैगरी नेपालले संयुक्त राष्ट्र सङ्घ ,सुरक्षा परिषद्मा नेपालले सहयोग गर्ने बताइएको थियो।

उनीहरु दुई देशबीचको प्रबुद्ध समूहको बैठक सन् २०१६ मै गर्ने र त्यस समूहले नेपाल र भारतबीचको सम्बन्धका विषयमा स्वतन्त्र तवरले बहुपक्षीय सम्बन्धको विकास गर्न थप सहयोग गर्न सुझाव दिने अपेक्षा गरिएको थियो।

प्रधानमन्त्री दाहालले भारत भ्रमण निकै सफल भएको भन्दै यसले दुई देशबीच रहेको पुरानो तिक्तता अन्त्य भएर सम्बन्ध नयाँ उचाइमा पुगेको दाबी गरे। बिमानस्थल ओर्लिएअगत्तै प्रधानमन्त्री प्रचण्डलाई नेकपा (माओवादी) ले कालो झण्डा देखाएर बिरोध गरेको  छ ।