प्रधानमन्त्री प्रचण्डको भनाई,‘संविधान संशोधनको विषय अन्तिम चरणमा’

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, मंसिर १२, २०७३

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनको विषय अन्तिम चरणमा पुगेको र सत्ता पक्षमा भएका सबै दलसँग छलफल गरेर त्यसलाई टुङ्ग्याइने बताएका छन् ।

पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति आन्दोलनका अगुवाले आज प्रधानमन्त्री प्रचण्डलाई संविधान संशोधनका सम्बन्धमा सुझाव सहित ज्ञापनपत्र बुझाएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

ज्ञापनपत्रमा संविधान संशोधन गर्दा पहिलो संविधानसभाको राज्य पुनःसंरचना तथा राज्यशक्तिको बाँडफाँट समिति र राज्य पुनः संरचना आयोगको प्रतिवेदनलाई आधार बनाएर १० प्रदेशको प्रस्ताव दर्ता गर्न माग गरिएको छ ।

प्रतिनिधिमण्डलले पहिलो संविधानसभाका समिति र आयोगको प्रतिवेदनलाई आधार बनाएर अघि बढ्न सम्भव नभए सोही अनुसार कार्यादेश दिई शक्तिशाली आयोग बनाएर सीमाङ्कन लगायत विषय टुङ्गो लगाउन ध्यानाकर्षण गराएको छ ।