पूर्व एमालेबाट जितेका मेयरविरुद्ध उत्रियो नेकपा, कार्यकक्षमा तालाबन्दी

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, जेष्ठ १, २०७६

बाग्लुङ – पूर्व एमालेबाट निर्वाचित बागलुङ नगरपालिकाका नगर प्रमुख (मेयर) जनकराज पौडेल र प्रमुख प्रशासकीय अधिकृत भिमबहादुर कुँवरको कार्यकक्षमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताले नै तालाबन्दी गरेका छन् ।

नगरपालिका भष्ट्राचार बढेको र ढिलासुस्ती भएको भन्दै तालाबन्दी गरेको नेकपाका नेता कृष्ण पाठकले बताएका छन् ।
पछिल्लो समयमा नगरपालिकाले जनतालाई धेरै दुःख धेरै दिएकाले तालाबन्दी गर्न बाध्य भएको पाठकको भनाई छ ।
‘सयौं विकृतिहरू बढेको छ,’ उनले भने, ‘फोहोरको डंगुरलाई सफा नगरेसम्म नगरपालिकाको अवस्था सुध्रिदैन ।’

पाठकले जनताको नाममा आएको १० करोड बजेट नगरपालिकाले नियतबश फ्रिज गरेको आरोप लगाएका छन् ।

अर्थ मन्त्रालयबाट गत फागुन पहिलो साता पठाएको विशेष अनुदानको बागलुङ नगरपालिकाको पैयुँपाटा भैरवस्थान सडक कालोपत्र गर्न आएको समपुरक बजेट ७ करोड र थप अनुदानको ३ करोड फ्रिज गरेको पाठकले आरोप लगाए ।

नगर प्रमुखलाई पार्टीका नेताहरूले पटक–पटक सचेत बनाएपनि सुध्रिन नसकेको पाठकको भनाई छ । तालाबन्दीबारे नगरपालिकाले कुनै प्रतिक्रिया जनाएको छैन । नगर प्रमुख पौडेलको आदेशमा नगर प्रहरीले कार्यकक्षमा लगाएको ताला खोलेका छन् ।

नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्काले बजेट फ्रिज हुनुमा प्रमुख प्रशासकीय अधिकृत र लेखा शाखाको कमजोरी भएको बताए । उपप्रमुख राप्रपाबाट निर्वाचित भएका हुन् । उनले नगरपालिकामा यति ठूलो बजेट आएपछि कम्तिमा कार्यपालिकामा खबर नहुनु विकास विरोधी भएको उल्लेख गरे ।

मेयर पौडेल नेकपा गण्डकी प्रदेश सदस्य हुन् भने नेता पाठक प्रस्ताविक जिल्ला कमिटी सदस्यमा रहेका छन् ।

नेकपाभित्र आन्तरिक विवाद चुलिएपछि नगरपालिकामा तालाबन्दी भएको छ । तालाबन्दीसँगै आन्तरिक विवाद सतहमा देखिएको छ ।