सरकारी डाक्टरको निधनले शोकमा चिकित्सक संघ, भोलि देशभर बन्द

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, बैशाख १८, २०७६

http://www.nepatop.com.np/

काठमाडौं – नेपाल चिकित्सक संघका उपाध्यक्ष डा. मुकुन्द दाहालको बुधबार निधन भएको शोकमा देशभरका कार्यालय भोलि बैशाख १९ गते बन्द गर्ने निर्णय गरिएको छ ।

वरिष्ठ अर्थोपेडिक सर्जन डा. दाहालको बुधवार साँझ नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

बीपी स्मृति अस्पताल बसुन्धरामा उपचारका क्रममा उनको निधन भएको थियो । उनको असामयिक निधनले मर्माहत भएको नेपाल चिकित्सक संघले जनाएको छ ।

डा. दाहाल नेपाल सरकारको १० औं तहका वरिष्ठ अर्थोपेडिक सर्जन थिए । उनी विगत केही समयदेखि बिरामी भइ असक्त थिए ।

उनको निधनले चिकित्सा पेशाका एक इमान्दार, कर्मठ र लगनशील अर्थोपेडिक सर्जनलाई गुमाउन पुगेको नेपाल चिकित्सक संघले जनाएको छ । संघका महासचिव डा. लोचन कार्कीले इमान्दार, लगनशील र प्रतिष्ठित चिकित्सक एवं संघका उपाध्यक्षलाई गुमाउन पुगेको बताए ।

दाहालको मृत्यु शोकमा संघको केन्द्रीय कार्यालय तथा देशभरका सम्पूर्ण शाखा कार्यालयहरू बैशाख १९ गते एक दिनका लागि बन्द गरिने भएका छन् ।