ठमेल क्षेत्रको पर्यटन विकासका लागि राणालाई अगाडि सारिने

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, बैशाख १७, २०७६

http://www.nepatop.com.np/

काठमाडौं- ठमेल क्षेत्रको पर्यटन विकासका लागि पर्यटन व्यवसायी प्रकाशनरसिंह राणालाई अगाडि सारिने भएको छ । आसन्न ठमेल पर्यटन विकास परिषद्को साधारणसभाबाट परिषद्को अध्यक्ष बनाउने गरी राणालाई अगाडि सारिन लागिएको हो ।

ठमेल क्षेत्रको पर्यटन विकासमा पाको, परिपक्व र मिहनेती पर्यटन व्यवसायीका रुपमा परिचित राणाले आसन्न परिषद्को नेतृत्व सम्हाल्ने जिम्मेवारी आफ्नो काँधमा आइपरे ठमेल क्षेत्रको पर्यटन विकासमा दत्तचित्त भएर लाग्ने प्रतिवद्दता जनाएका छन् ।

ठमेल क्षेत्रका पर्यटन व्यवसायी तथा घरधनीबीच सौहार्द सम्बन्ध, ठमेलको विकासमा सहकार्य, सरसफाई, फोहर व्यवस्थापन, ढल सुधार, आकर्षक तथा कलात्मक होर्डिङबोर्ड, झाङ्गीएका तारजाली व्यवस्थापन र फुटपाथहरुलाई व्यवस्थित बनाउने आफ्नो योजना रहेको राणाले बताए ।

त्यस्तै, पर्यटकीय नगरी ठमेललाई समेट्ने काठमाडौं महानगरपालिकाको वडा नम्वर–२६, वडा नम्वर–१६ लगायत स्थानीय जनप्रतिनिधिहरुको सुझाव सल्लाह, सहयोगमा सडक, सरसफाई, ढल निकास, सडक विजुली, सिसि क्यामेरा जडानका कामहरु तिब्र पारिने जानकारी राणाले दिएका छन् ।

शान्तिसुरक्षाको दृष्टिकोणले अति सम्वेदनशील ठमेलको सुरक्षाका लागि महानगरीय प्रहरी वृत्त दरवारमार्ग र सोह्रखुट्टे वृत्तसँग समन्वय र सहकार्य गरी चोरी डकैति, पकेटमारी, लागूऔंषध नियन्त्रण, ट्राफिक व्यवस्थापन लगायत विभिन्न समस्या समाधान आफ्नो पहल रहने उनको भनाई थियो ।

पर्यटन व्यवसायी राणाले परिषद्का करीव आठसय सदस्यहरुले उठाउँदै आएका जल्दाबल्दा समस्या तथा वर्तमान परिषद्को कार्यसमितिले विगतदेखि अगाडि बढाउँदै आएको पर्यटन व्यवसायको श्रीबृद्धिका लागि विकास निर्माणका योजनालाई निरन्र्ता दिने र शान्ति सुरक्षालाई थप सशक्तरुपमा अगाडि बढाउदै लैजाने बताए ।

राणालाई सर्व सहमतिकै आधारमा परिषद्को अध्यक्ष चयन गरिने र यदि त्यसो नसकेम बुहुमतिय प्रक्रियाबाट अध्यक्ष बनाउने अभ्यास पनि जारी रहेको ठमेलका पर्यटन व्यवसायीहरु बताउछन् ।