रामेछापमा तारा एयरको विमान दुर्घटना

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, बैशाख ९, २०७६

सांकेतिक तस्बिर 

काठमाडौं – रामेछाप जिल्लाको विमानस्थलमा तारा एयरको विमान दुर्घटनामा परेको छ । रामेछापको विमानस्थलबाट फाप्लुका लागि यात्रु लिएर उडेको तारा एयरको विमान मौसमको खराबीका कारण रामेछाप पुनः फर्किएको थियो ।

फाप्लुमा अवतरणा गर्न नसकेर रामेछाप डाइभर्ट भएको तारा एयरको जहाज बिहान ९ बजेर ३८ मिनटमा रामेछापमा अवतरण गर्दा धावनमार्गमा चिप्लिएको त्रिभुवन विमानस्थलले जनाएको छ ।

डोर्नियर विमान हाइड्रलेलिक पाइप फुटेर रनवेबाट चिप्लिएको हो । दुर्घटनामा मानवीय क्षति भएको छैन । दुर्घटनापछि रनवे बन्द गरिएको छ । चिप्लिएको जहाज नहटाएसम्म उडान सुचारु हुन सक्ने अवस्था छैन ।

विमानमा १४ विदेशी यात्रु र तीनजना चालक दल सदस्य थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबावु तिवारीका अनुसार विमान काठमाडौंबाट फाप्लुका लागि उडेको थियो । फाप्लुमा अवतरण गर्न नसकेपछि जहाज रामेछाप डाइभर्ट भएको थियो ।