ओली सरकारविरुद्ध देशभरका पत्रकार आन्दोलित, कालो ब्यानर बोकेर सडकमा

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, बैशाख ३, २०७६

काठमाडौं – पोखराको पाण्डबन्यूज डटकमका सम्पादक अर्जुन गिरीलाई साइबर क्राइम मुद्दामा पक्राउ गरिएपछि कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध देशभरका पत्रकार आन्दोलित भएका छन् ।

नेपाल पत्रकार महासंघको आह्वानमा पत्रकार आन्दोलित भएका छन् भने केन्द्रीय समितिले काठमाडौंको माइतीघर मण्डलामा कालो ब्यानरसहित सरकारको निरंकुश व्यवहारको विरोध गरेका छन् ।

समाचार लेखेको विषय साइबर क्राइम नहुने भन्दै पत्रकारहरू आन्दोलित भएका छन् । सामाजिक सञ्जालमा पत्रकारहरूले प्रेस स्वतन्त्रता ग्यारेन्टी गर भन्ने मागलाई कालो रंगमा लेखेर पोस्ट गरिरहेका छन् ।

यस्तै, नेपाल पत्रकार महासंघ तनहुँले ताण्डब न्यूजका सम्पादक अर्जुन गिरीलाई ठगीको समाचार लेखेकै कारण साइबर क्राइम अन्तर्गत मुद्दामा कास्की प्रहरीले सोमबार पक्राउ गरेर गिरीलाई काठमाडौं पठाएको घटनालाई लिएर विरोध जनाएको छ । महासंघ तनहुँले जिल्ला प्रशासनमा धर्ना दिएर पत्रकार गिरी पक्राउको विरोध गरेको हो ।

नेपाल पत्रकार महासंघ गोरखा शाखाले पनि जिल्ला प्रशासनमा धर्ना दिएर पत्रकार गिरी पक्राउको विरोध जनाएको छ ।

पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेलले विज्ञप्ति नै जारी गरी प्रदेशका हरेक जिल्ला प्रशासनमा धर्ना दिएर दबाब दिन आग्रह गरेका छन् ।