निर्मला हत्या प्रकरणमा एसपी विष्टको डिएनए रिपोर्ट आयो, विष्टहरूको सातो गयो !

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, अशोज १३, २०७५

काठमाडौं – कञ्चनपुर जिल्लाकी किशोरी निर्मला पन्तको हत्याकाण्डमा संलग्न रहेको आरोप लागेका तत्कालीन एसपी डिल्लीराज विष्टसहित ३ जनाको डीएनए परीक्षणको रिपोर्ट आएको छ ।

भदौ २८ मा निलम्बित एसपी बिष्ट, उनका छोरा किरण बिष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुश बिष्टको डीएनए परीक्षण गराउन रगतको नमूना संकलन गरिएको थियो ।

तीनजनाको डीएनए रिपोर्ट शुक्रबार कञ्चनपुर आईपुगेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका एसपी कुवेर कठायतले जानकारी दिए ।

तीन जनाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको फरेन्सिक ल्याबमा डीएनए परीक्षण गरिएको थियो । आइतबार डिएनएको रिपोर्ट सरकारी वकिलसँग परामर्श गरेर खोलिनेछ ।

यसअघि प्रहरीले मुख्य अभियुक्तको रुपमा सार्वजनिक गरेको दिलिपसिंह विष्टको डिएनए रिपोर्ट नमिलेपछि उनी छुटेका थिए । त्यस्तै, निर्मला पन्तको हत्या हुनु अगाडि उनी गएको घरकी रोशनी र बबिता बम पनि छुटिसकेका छन् ।

साउन १० गते रोशनीको घर गएकी निर्मलाको साउन ११ गते विहान नजिकैको उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।