लैनचौरमै बनेको थियो खुर्सिदको हत्याको योजना, वामदेवले गरेका थिए अस्वीकार

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, अशोज ६, २०७५

काठमाडौं – सुनसरीमा गोली हानी हत्या गरिएका पूर्वएमालेका नेता खुर्सिद अन्सारी जिल्ला कमिटी सदस्य मात्रै थिएनन् । उनी भारतीय प्रहरीको मोस्ट वान्टेड सूचीमा थिए ।

प्रहरी उच्च स्रोतका अनुसार बिहीबार हरिनगर गाउँपालिकामा गोली हानेर हत्या गरिएका अन्सारीलाई भारतीय सुरक्षाकर्मीले हत्या योजना पहिलादेखिनै बनाएको खुलासा भएको छ । खुर्सिदको हत्याको प्रकृति र सुटरहरूको गतिविधिले उनीहरू भारतीय सुरक्षाकर्मी हुन् भन्ने पुष्टि गरेको प्रहरी स्रोतको भनाइ छ ।

भारतले खुर्सिदलाई आतंकवादीको सूचीमा राखेर उच्च निगरानीमा राख्दै आएको प्रहरी स्रोतको भनाइ छ । खुर्सिदलाई पक्राउ गर्न बेलाबेला भारतीय प्रहरी घरमा पनि आउने गरेको थियो ।

सन् २००८ मा भारतका केही शहरमा भएको शृंखलाबद्ध बम आक्रमणका आरोपीलाई खुर्सिदले संरक्षण दिएको आरोप भारतीय सुरक्षाकर्मीको छ । भारतीय सुरक्षाकर्मीले कुटनीतिक माध्यममार्फत खुर्सिदलाई सुपुर्दगी गर्न पत्राचार गरेको थियो । तर, त्यस बेला गृहमन्त्री एमालेका प्रभावशाली नेता वामदेव गौतम थिए । गौतमले आफ्नै पार्टीका जिल्ला नेता खुर्सिदलाई भारतलाई दिन मन गरेनन् । भारत त्यस बेला नै गौतमसँग रिसाएको थियो ।

खुर्सिदले इन्डियन मुजाहिद्दीनका व्यक्तिहरूलाई सेल्टर दिएको भारतीय सुरक्षाकर्मीको आरोप छ । खुर्सिदलाई पक्राउ गर्न खटिएका प्रहरी शिव पौडेललाई सुटरले नै गोली हानेर घाइते बनाएका छन् । प्रहरीलाई गोली हानेर सानका साथ भारततिर लागेका उनीहरू साधारण व्यक्ति नभएको प्रहरीको भनाइ छ ।

‘रअ’का लागि काम गर्दै आएका एकजना नेताका अनुसार खुर्सिदले भारतका विभिन्न शहरमा बम विष्फोट गराउने आतंकवादीहरुलाई नेपालको नागरिकता र पासपोर्ट बनाइदिएर सेल्टर दिएका थिए ।

नेपाली नागरिक भएपछि भारतमा जति दिन बस्न पाइन्छ । पाकिस्तानीहरू भारतमा धेरै दिन बस्न सम्भव थिएन ।

त्यसैको फाइदा उठाउँदै खुर्सिदले नेपाली नागरिकता र पासपोर्ट दिलाएकाहरू भारतमा निस्फिक्री बसेर आतंकवादी घटना गराए नेपाल फर्किएको ‘रअ’का ती नेताको भनाए छ । नेपाल आएपछि ती आतंकवादीहरूलाई खुर्सिदले नै पाकिस्तान उडाएको भारतीय पक्षको दाबी छ ।

भारतीय सुटर रवि पाण्डेयले २०७० सालमा बारास्थित जितपुर–३ का पेट्रोलियम व्यवसायी आफताव आलमको गोली प्रहार गरेर हत्या गरेका थिए । उनै पाण्डेयले २०६८ सालमा काठमाडौंको महानगरीय प्रहरी कार्यालयको फैजान अहमदलाई गोली हानेका थिए । पाण्डेय जेलमा छन् ।

इस्लामिक संघका तत्कालीन महासचिव फैजान अहमद, सञ्चार उद्यमी जमिम शाह र पूर्वसांसद मिर्जा दिलसाद बेग, कमलसिंह नेपाली, नेपालगञ्जका अब्दुल मजिद मनिहार, वुटबलका सौकद अली र युनुस अन्सारीमाथि गोली प्रहार गर्ने भारतीय समूह एउटै रहेको प्रहरी भनाइ छ ।

२०६७ साल फागुन २६ गते केन्द्रीय कारागारको सुरक्षा घेरा पार गरेर युनुस अन्सारीमाथि गोली प्रहार भएको थियो । अन्सारीलाई भारतीय नागरिक जसजीत सिंहले गोली प्रहार गरेका थिए । सिंह पनि जेलमा छन् । सिंह भारतीय प्रहरी हुन् ।

यसैबीच, गृहमन्त्रालयले खुर्सिद हत्या घटनाको अनुसन्धान तथा छानविन गर्न एसएसपी किशोर दाहालको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरेको छ । समितिले १५ दिनभित्र प्रतिवेदन बुझाउनु पर्नेछ ।