कम्युनिस्टको चक्रब्यूहमा फस्यो उत्कृष्ट संविधान, हकअधिकार कागजमै सीमित

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, अशोज ३, २०७५

काठमाडौं – नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई चौथो वर्षमा प्रवेश गरेको अवसरमा बुधवार संविधान दिवस मनाइँदैछ ।

संविधान घोषणा हुँदा संसारकै उत्कृष्ट भनिएको थियो । तर, कार्यान्वयनको चरणमा कम्युनिस्टहरू सत्तामा पुगेपछि हकअधिकार कागजमै सीमित हुने अवस्था आएको छ । कम्युनिस्टको निरंकुश र अधिनायकवादी शैलीका कारण जनताले पटक–पटक सडकमा आन्दोलन गरेर आवाज उठाउनुपरिरहेको छ ।

संविधान दिवस संविधान जारी भएको दिनको सम्झनामा मनाइने दिवस हो । नेपालमा हालसम्म विभिन्न समयमा गरी ६ वटा संविधानहरू लागू भएका छन् । त्यस अनुसार नै संविधान दिवस मनाइएको पाइन्छ ।

काठमाडौँ उपत्यका बाहिरका प्रदेशका राजधानी, जिल्ला र स्थानीय तहमा सरसफाइ, प्रभातफेरी, खेलकुद, प्रवचन गोष्ठी, साहित्यिक गोष्ठी, सांस्कृतिक कार्यक्रम र विभिन्न झाँकी प्रदर्शनी गरिनाका साथै असोज २, ३ र ४ गते दिपावली गरिरहेको छ ।

संविधानमा सबैको अपनत्व बनाउन सरकारले मधेश केन्द्रीत दलसँग संविधान संशोधन गर्ने सम्झौता समेत गरेको थियो । सम्झौता अनुसार काम नहुँदा अहिले देशभित्रै संविधानको विरोध हुने अवस्था आएको छ । संविधानको भव्य कार्यान्वयन हुनुपर्ने बेला कम्युनिस्ट सरकारका कारण विवादित भइरहेको छ । राजपा र फोरमले संविधानको विरोध गरिरहेका छन् ।

सरकारले संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा ३३ सदस्यीय मूल समारोह समिति, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको संयोजकत्वमा प्रचारप्रसार उपसमिति र कामपाको संयोजकत्वमा मञ्च सजावट व्यवस्था उपसमिति गठन गरेको थियो ।

यसै दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गर्ने भएको छ ।

समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक नियकायका प्रमुख, मन्त्रिगण, विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारीलगायतको उपस्थिति रहने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

समारोहमा पुष्पवृष्टि, संविधान दिवस–२०७५ अंकित तुल प्रदर्शन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक सङ्घसंस्थाबाट विभिन्न जातजातिको वेशभूषा झल्कने झाँकी प्रदर्शन, काठमाडौं र ललितपुर महानगरपालिकाबाट विशेष झाँकी प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ ।

त्यसैगरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीद्वारा रोचक कार्यक्रम प्रस्तुत गरिनाका साथै संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्रीद्वारा विशेष सम्बोधन गरिने छ ।

त्यसैगरी विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा संविधान दिवस एवं राष्ट्रिय दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिने र असोज २, ३ र ४ गते दीपावली गरिने मन्त्रालयले जनाएको छ ।

संविधान जीवन्त दस्तावेज हुनुपर्ने भएकाले सरकारले यसको प्रभावकारी कार्यान्वयन गर्दै व्यवस्था भएका हकअधिकार जनतासम्म पुगेको प्रत्याभूति गराउन ढिलाइ गरिरहेको छ । संविधान बमोजिमका सेवासुविधा जनताको सहज पहुँचमा नपुग्दा संविधान र व्यवस्थाप्रति वितृष्णा बढ्ने देखिएको छ ।