यी हुन् कम्युनिस्ट सरकारको गोली खाने वीर सपुत, दिनभरि के–के भयो ?

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, भदौ ७, २०७५

काठमाडौं – कम्युनिस्ट सरकार कतिसम्म क्रूर हुन सक्छ भन्ने उदाहरण दिने गरी बिहीबार कञ्चनपुरमा दर्दनाक घटना भएको छ ।

भीमदत्त नगरपालिकाकी बालिका निर्मला पन्तका बलात्कारी र हत्यारालाई कारवाहीको माग गर्दै आन्दोलन गरिरहेका प्रदर्शनकारीमाथि सरकारले गोली चलाएको छ । अपराधमा संलग्न व्यक्तिलाई उच्च राजनीति संरक्षण मिलिरहेको आरोप लागेपछि स्थानीय वासिन्दा आन्दोलित भएका थिए ।

आन्दोलनमाथि दमन गर्दै सरकारले गोली नै बर्साएको छ । कम्युनिस्ट सरकारको दमन र अपराधीको विरुद्ध महेन्द्रनगरका वीर सपुतहरूले ज्यानको बाजी लगाएका छन् । प्रहरीको दमनका क्रममा कतिपय युवा घाइते समेत भएका छन् ।

सदरमुकाम महेन्द्रनगरमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा कम्तिमा १० जना घाइते भएका छन् । घाइतेको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइतेलाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको छ ।

घाइतेमध्ये स्थानीय अर्जुन भण्डारी र तेज भट्ट गम्भीर घाइते भएका कारण दुबै जनालाई रेफर गरिएको छ । घाइते किरणप्रसाद पाण्डे, सरोज खड्का, विरित पनेरु र सन्तोषकुमार कठरियाको महाकाली अञ्चल अस्पतालमै उपचार भइरहेको छ । गम्भीर घाइते भण्डारीको खुट्टा र भट्टको टाउकोमा चोट लागेको जनाइएको छ ।

आन्दोलनको आँधिबेहरीले डरायो सरकार

बुधबारसम्म जिल्ला प्रशासन कार्यालय गेट अगाडि सामान्य आन्दोलन गरिरहेका प्रदर्शनकारीले बिहीबारदेखि आन्दोलनको आँधिबेहरी सिर्जना गर्ने थाहा पाएपछि सरकार र प्रहरी प्रशासन डराएको थियो । बलात्कारका विषयमा सत्यतथ्य छानबिन नगर्ने र प्रमाण संकलनमा बेइमानी गरेका एसपी डिल्लीराज विष्टमाथि आन्दोलनकारी आक्रामक बनेका थिए ।

जिम्मेवारी सही ढंगले बहन नगर्ने र हत्यारालाई बचाउन खोज्ने एसपीलाई संरक्षण गरिरहेको सरकार कडा अडानमा थियो । त्यसैले सरकारले बिहानैदेखि प्रदर्शनकारीलाई जिल्ला प्रशासन कार्यालय रोडमा जान दिएको थिएन ।

प्रदर्शनकारीले प्रशासन कार्यालयमा जबर्जस्ती घुस्न खोजेपछि प्रहरीले आत्तिएर गोली चलाएको थियो । प्रहरीले बलात्कारको अभियुक्त भन्दै मानसिक सन्तुलन ठिक नभएको असामान्य व्यक्तिलाई सार्वजनिक गरेपछि सर्वसाधारण आक्रोशित बनेका छन् ।

महेन्द्रनगरमा कर्फ्यू

जिल्ला प्रशासन कार्यालयले कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा बिहीवार साँझ ५ बजेदेखि लागू हुने गरी कर्फ्यू लगाएको निर्णय सार्वजनिक गरेको छ ।

बालिका निर्मला पन्तका बलात्कारी र हत्यारालाई कारवाही माग गर्दै भइरहेको प्रदर्शन आक्रामक भएपछि दिउँसो ३ बजेदेखि नै कर्फ्यू लगाउने भनेर सुरक्षा निकायबाट प्रचार गरिएपनि प्रशासनले ५ बजेदेखि कर्फ्यू लाग्ने निर्णय सार्वजनिक गरेको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काद्वारा जारी सूचनामा बिहीवार साँझ ५ बजेदेखि शुक्रवार बिहान ५ बजेसम्म कर्फ्यू जारी गरिएको जनाइएको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६क बमोजिम कर्फ्यू जारी गरिएको जनाइएको छ ।

‘आन्दोलनले उग्ररुप लिई सरकारी सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउन सक्ने तथा अराजक भीडका कारण शान्ति भंग हुन जाने परिस्थिति सिर्जना भएकोले अर्काे आदेश नभएसम्म कसैले पनि घर बाहिर ननिस्कन, आवतजावत नगर्न, भेला जम्मा नहुन तथा कुनै प्रकारको गतिविधि नगर्न, नगराउन सर्वसाधारणको जानकारीको लागि कर्फ्यू आदेश जारी गरिएको छ,’ सूचनामा लेखिएको छ ।

प्रहरी प्रशासनमा नयाँ कमाण्डर

बालिकाको बलात्कार र हत्यामा संलग्नलाई कारबाही माग गर्दै चलिरहेको आन्दोलनले तनावग्रस्त रहेको कञ्चनपुरमा नयाँ प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको परिचालन गर्ने निर्णय भएको छ ।

गृह मन्त्रालयले विहीवार कञ्चनपुरका सीडीओ कुमार खड्का, प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्ट तथा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेठीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । अब उनीहरुको ठाउँमा नयाँ अधिकारीलाई पठाइएको छ । कञ्चनपुरको नयाँ सीडीओमा तारानाथ अधिकारीलाई पठाउने निर्णय भएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

गत साउन ९ गतेसम्म कास्कीको प्रमुख जिल्ला अधिकारी रहेका अधिकारी त्यसयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभागमा कार्यरत थिए । कञ्चनपुर प्रहरी प्रमुखमा प्रहरी उपरीक्षक (एसपी) कुवेर कडायतलाई परिचालन गर्ने निर्णय भएको जनाइएको छ ।

कडायत हाल सुदूरपश्चिम क्षेत्रीय सशस्त्र प्रहरी गण धनगढीमा कार्यरत छन् । कडायत जिल्ला प्रहरी कार्यालय महोत्तरीको प्रमुखबाट गत साउन १६ गते सरुवा भएर क्षेत्रीय सशस्त्र प्रहरी गण धनगढी पुगेका थिए ।

छानबिन समिति गठन

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्यासम्बन्धी घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।

गृह मन्त्रालयले सहसचिव हरीप्रसाद मैनालीको नेतृत्वमा ५ सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको हो । समितिमा नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारी पनि सहभागी छन् ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको बैठकको निर्णयानुसार उच्चस्तरीय छानबिन समिति गठन भएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीसहित प्रदेश नम्बर ७ को आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रतिनिधि सहभागी छन् ।

समितिलाई बालिका पन्तको बलात्कार तथा हत्या घटनाको विस्तृत अध्ययन तथा छानबिन गरी १५ दिन भित्र प्रतिवेदन बुझाउन म्यान्डेड दिइएको छ ।